उदयपुरका सबै स्थानीयतहमा बुस्टर डोज दिइदै

२0७८ माघ ५ बुधबार
उदयपुरका सबै स्थानीयतहमा बुस्टर डोज दिइदै

उदयपुर

कोविडविरुद्धको बुस्टर डोज खोप उदयपुरमा दिन थालिएको छ । हिजो ४ गते मंगलबारदेखि जिल्लाका ८ वटै स्थानीयतहका अस्पताल तथा स्वास्थ्यचौकी र जिल्ला अस्पतालबाट बुस्टर डोज दिन थालिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 


जस अनुसार ४ गते चौदण्डीगढी नगरपालिकाबाट सुरु भएको खोप अभियान आउँदो १० गतेसम्ममा सकिने स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले बताए । उनका अनुसार ४ र ५ गते चौदण्डीगढी नगरपालिका ५ र ६ गते त्रियुगा नगरपालिकामा तथा उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकामा ६ र ७ गते खोप दिने कार्यक्रम छ । 


त्यसैगरी बेलका नगरपालिका, रौतामाई, लिमचुङबुङ र ताप्ली गाउँपालिकामा ९ र १० गते बुस्टर डोज दिने कार्यक्रम छ भने ४ गतेदेखि नै सुरु भएको जिल्ला अस्पतालमा ७ गतेसम्म खोप दिने कार्यक्रम तय भएको दासले बताए । 


पछिल्लो समय एक्कासी ओमिक्रोन भेरिएन्टसंक्रमण बढेपछि सतर्कता अपनाउन बुस्टर डोज खोप दिने निर्णय भएको हो । जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुरको माघ ३ गते बसेको बैठकले बुस्टर डोज दिने निर्णय गरेको हो । 


बुस्टर खोप पहिलो चरणमा अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकार, ६५ वर्षमाथिका जेष्ठ नागरिक तथा १८ वर्षमाथिका दीर्घरोगीलाई खोप दिने कार्यक्रम रहेको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरञ्जिवी निरौलाका अनुसार बुस्टर डोज खोप पाउन गत असार अर्थात ६ महिनाअघि दोस्रो मात्राको खोप लिइसकेको हुनुपर्ने छ । 


बुस्टर डोज खोप कोभिसिल, भेरोसिल र एस्ट्राजेनिकाको दोस्रो मात्रा हानिसकेकाहरुलाई मात्र दिइने निरौलाले बताए ।