फोनिज नेतृत्वलाई बधाई 

२0७८ माघ ३ सोमबार
फोनिज नेतृत्वलाई बधाई 

गाईघाट

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ समितिमा निर्वाचित उदयपुरका ३ पत्रकारलाई बधाई ज्ञापन गरिएको छ । गत पुस २६ देखि २८ सम्म मोरङको पथ्रीमा आयोजित दोस्रो ऐतिहासिक प्रदेश महाधिवेशनबाट उपाध्यक्ष हुन सफल राजेन्द्र दुष्ट र अप्सरा समाल तथा लेखा समिति सदस्य सञ्चार किरातीलाई फोनिज उदयपुरले बधाई दिएको हो । 


फोनिज उदयपुरले गाईघाटस्थित होटल कन्चनजंघामा आयोजना गरेको कार्यक्रममा नेपाल आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले उनीहरुलाई पगरी गुथाउँदै खादा लगाएर बधाई दिए । 


बधाई दिदै अध्यक्ष थापाले आदिवासीहरु अहिले पनि हरेक क्षेत्रमा पिछडिएको अवस्था रहेकाले एकजुट भएर अघि बढ्न आग्रह गरे । आफु आदिबासी जनजाति आन्दोलनमा लामो समय लड्दै आएको र त्यसैको फलस्वरुप आयोगको अध्यक्ष हुन सफल भएको उनले बताए । आदिबासी जनजातिहरुको अधिकार, पहिचान, उत्थान र विकासमा आयोगले खेल्ने भूमिकामा कुनै कमी नहुने आश्वासन दिदै अध्यक्ष मगरले फोनिजमा आबद्ध पत्रकारहरुले अरु बेलाजस्तै निर्वाचनका बेला पनि बिबेक पुर्याउन आग्रह गरे । 


आफु उदयपुरकै बासिन्दा भएकाले उदयपुरलाई विशेष प्राथमिक्ता दिएर यहाँका आदिबासी जनजातिको हितमा काम गर्ने प्रतिबद्धता जनाउँदै उनले त्यसका लागि जिल्लाबासी पत्रकारहरुबाट साथ सहयोगको अपेक्षा गरेको बताए । 


कार्यक्रममा आदिबासी जनजाति जिल्ला समन्वय परिषद उदयपुरका अध्यक्ष गौरीशंकर उदासले सबभन्दा महत्वपूर्ण पक्ष धर्म, संस्कार, संस्कृति, रितिरिवाज र परम्परा भुल्दै गएका कारण आदिबासीहरु हरेक क्षेत्रबाट पछि परेको बताए । उनले संविधानमा आदिबासीको अधिकार सुनिश्चित गर्ने भनेर उल्लेख भए पनि राज्यले त्यसप्रति चासो नदिएको उनको गुनासो थियो । 


माओबादीको १० वर्षे जनयुद्धदेखि जनआन्दोलन हुँदै ०७० सम्म भएका बिभिन्न आदिबासी आन्दोलनलाई दबाउन भएका वार्ता र छानविन समितिका प्रतिबेदनहरु कुनै कार्यान्वयन नभएको उनको भनाई थियो । ती प्रतिबेदनहरु कार्यान्वयन गर्न सरकारलाई दबाब दिनुपर्ने उनको भनाई थियो । 


कार्यक्रममा फोनिजका केन्द्रीय सदस्य विश्वराज तामाङ, नेपाल पत्रकार महासंघ प्रदेश समितिका पूर्व सचिव हरिकुमार राई, महासंघ लउदयपुरका पूर्व अध्यक्ष महेश्वर चामलिङ, पूर्व उपाध्यक्ष भोटराज राई र सम्मानित पत्रकारहरुले बोलेका थिए । 


फोनिज अध्यक्ष इश्वर बलम्पाकी मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बुद्धि चामलिङले गरेका थिए ।