सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा एकको निधन, ५ घाईते

२0७८ माघ ३ सोमबार
सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा एकको निधन, ५ घाईते

कटारी

कटारीमा सोमबार साँझ बोलेरो जीप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने बालकसहित ५ घाईते भएका छन् । कटारीदेखि मरुवातर्फ गईरहेकोे बा १० च ४१८८ नम्बरको बोलेरो कटारी नगरपालिका ८ बिबिजुलेस्थित सिद्धिचरण लोकमार्गमा दुर्घटना हुँदा सोही वडा पाखाटोलका ३८ वर्षीय विक्रम रानामगरको ज्यान गएको हो । 


साँझ ५ः०० बजे भएको दुर्घटनामा परी चालकबाहेक बोलेरोमा सवार सबै घाईते भएका थिए । इलाका प्रहरी कार्यालयको टोलीले तत्काल घाईतेहरुको उद्धार गरी कटारी अस्पतालमा उपचारार्थ भर्ना गरेकोमा केहीबेरमै मगरको निधन भएको हो । 


अन्य घाईतेमा कटारी ८ पट्नाभज्याङका ताराराज खड्काका १७ वर्षीय छोरा मनोज खड्का, सोही वडा घुम्तीका दिपक श्रेष्ठका ७ वर्षीय छोरा दिवश, दुर्गाबहादुर जर्घा मगरकी श्रीमती ३० वर्षीया दिलमाया, चक्रबहादुर श्रेष्ठकी श्रीमति ४८ वर्षीया बुद्धमाया र ३६ वर्षीया बेदकुमारी थापामगर घाईते भएका छन् ।


इप्रका कटारीका प्रमु्ख डिएसपी मानबहादुर राईका अनुसार उनीहरु सबैको कटारी अस्पतालमै उपचार भईरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । खड्काको देब्रे घुँडामा चोट लागेको छ भने दिवशको दाहिने हात र टाउकोमा चोट लागेको छ । त्यस्तै दिलमायाको देब्रे खुट्टामा चोट लागेको छ भने बुद्धमायाको घाँटीमा र बेदकुमारीको देब्रे हातमा चोट लागेको छ । 


चालक कटारी नगरपालिका ८ का २६ वर्षीय प्रेमबहादुर श्रेष्ठ भने दुर्घटनालगत्तै भाग्न सफल भएका छन् । उनको खोजी भईरहेको डिएसपी राईले बताएका छन् । बोलेरो इप्रकाको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु लभएको छ ।