कोविडका कारण ‘येले संवत ५०८२’ प्रभावित

२0७८ माघ १ शनिबार
कोविडका कारण ‘येले संवत ५०८२’ प्रभावित

उदयपुर

कोविडको ओमिक्रोन भेरिएन्ट फैलिएपछि किरात संवत (येले संवत) ५०८२ प्रभावित भएको छ । किराती राजा यलमहाङ (यलम्बर)को पालादेखि चलिआएको संवत येले दुङको यो माघ १ गतेदेखि ५०८२ सुरु भएको छ । 


येले दुङको अवसरमा उदयपुृरमा बिभिन्न गतित्रिधि गर्न लागेकोमा कोविडका कारण भेला जमघट गर्न सरकारले रोक लगाएपछि कार्यक्रम प्रभावित भएको हो । येले संवतकै अवसरमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको हातबाट चौदण्डीगढी नगरपालिकाको बसाहामा निर्मित येलहाङको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रम थियो । 


तर, भेला जमघटमा रोक लागेका कारण मुख्यमन्त्री राई उपस्थित हुने कार्यक्रम रद्ध गर्नु परेको किरात राई यायोक्खा चौदण्डीगढी नगर समितिले जनाएको छ । येले संवतको नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्न बिभिन्न कार्यक्रम तय गरिए पनि पूर्वसन्ध्यामा आएर सबै कार्यक्रम रद्ध गर्नु परेको यायोक्खा उदयपुरका कार्यवाहक अध्यक्ष नवीन राईले बताए । 


येले संवतलाई स्वागत गर्न उदयपुरमा दुई दर्जन बढी कार्यक्रम तय गरिएको उनले बताए । संघीय सरकारको कोविड शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी) को निर्णय अनुसार पुस २७ गतेदेखि जिल्लाभरी भेला जमघटजन्य कार्यमा रोक लागेपछि येले संवत मनाउन नपाएको राईले बताए ।


येले संवत ५०८२ लाई स्वागत गर्न सदरमुकामलगायत जिल्लाका बिभिन्न स्थानीयतह र वडाहरुमा कार्यक्रम तय भएको थियो । सदरमुकाममा गर्ने भनिएको साकेला सिलीसहितको ‘नयाँ यले संवत ५०८२ को स्वागत तथा अन्तरक्रियात्मक बिबिध सांस्कृतिक कार्यक्रम’ हुन पाएन । त्यस्तै त्रियुगा नगररपालिका ५ श्रीपुरमा गर्न लागेको सांस्कृतिक कार्यक्रम, कटारीको साकेला तथा येले संवत स्वागत कार्यक्रम पनि रद्ध भएको छ । 


लिमचुङबुङ, उदयपुरगढी, ताप्ली र रौतामाई, गाउँपालिकाका तय भएका सबै कार्यक्रमहरु पनि सम्पूर्ण तयारी पुरा भएको बेला अन्तिममा आएर रोक्नु परेको छ । 


येले संवतसँगै मगर समुदायले मनाउने ‘माघ्या सक्राटी’ र थारु समुदायको ‘माघी’ पनि प्रभावित भएको छ । मगर समुदायले हरेक माघ १ गते भव्यरुपमा कार्यक्रम गरेर माघ्या सक्राटी मनाउदै आएको थियो । यसवर्ष पनि बिबिध सांस्कृतिक, अन्तरक्रिया, खेलकुदलगायत कार्यक्रम तय भए पनि अन्तिममा रद्ध गर्नुपरेको नेपाल मगर संघ उदयपुृरका सचिव इश्वर बलम्पाकी मगरले बताए । 


त्यस्तै हरेक माघीको अवसरमा बिभिध गतिबिधि गर्दै भव्य रुपमा मनाउने गरिएको थारु समुदायको माघी पनि यो वर्ष खल्लो भयो । माघीको अवसरमा त्रियुगा, लुहाले र बरुवा खोलाको संगम जोगीदह त्रिबेणीमा लाग्ने मेला यो वर्ष लाग्न पाएन । माघी थारु समुदायको जितीयापछिको दोस्रो ठूलो चाड हो । यसवर्ष यसैबेला कोविड कहर आईपरेकाले माघी मनाउन नपाएको थारु पत्रकार संघ उदयपुरका अध्यक्ष सुखीलाल चौधरीले बताए । 

मैनी मेला पनि रद्ध

यता कटारी नगरपालिका १ खोक्सा त्रिबेणीमा वर्षेनी लाग्ने मैनी मेला पनि अन्तिममा आएर रद्ध भएको छ । उदयपुर र सिन्धुलीको सीमानामा पर्ने कमला, तावा र ककु्र खोलाको संगमस्थल त्रिबेणीमा माघ १ देखि १५ गतेसम्म मेला लाग्ने गरेको छ । यो वर्ष मेलाको सबै तयारी पुरा भए पनि डिसिसिएमसीको निर्णय अनुसार रद्ध गर्नु परेको कटारी नगरपालिकाले जनाएको छ । 


नगपालिकाले मेला आयोजना गर्न ७ लाख रुपैँयामा ठेक्कासमेत लगाईसकेको थियो । मेला लगषउन नपाउने भएपछि ठेक्का रद्ध गर्नु परेको नगरपालिकाले जनाएको छ । मेलाका लागि त्रिबेणीमा २ सयभन्दा बढी स्टल, स्वागत गेट, नदी सफाई, सडक मर्मतजस्ता सबै तयारी पुरा भईसकेका बेला कोविड सतर्कता अपनाउनुपर्ने भनेका कारण मेला रद्ध गर्नु परेको नगरले जनाएको छ । 


त्रिबेणी धार्मिक र व्यापारिक जमघट हुने थलो हो । मेलामा टाढाटाढाबाट आउने भक्तजनले कमला नदीमा १ गतेका दिन मकर नुहाएर पुजा पाठ गर्ने तथा पाठी, हाँस र परेवाको बली दिने गरेका छन् । त्यसो गर्दा मनोकामना पुरा हुने जनविश्वास छ । ओखलढुंगाको राढीदेखि भारतीय बजारका कपडासम्म, स्थानीय कृषि उपजदेखि फलफुलसम्म र सियो धागो र नुनदेखि सुनसम्मको व्यापार हुने त्रिबेणीमा रमाईलो मेला, कालाजादु, बालउद्यान र मौतका कुवासम्मका खेलकुद र गीत तथा नृत्यजस्ता मनोरञ्जनात्मक कार्यक्रम हुने गरेको कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।