माघ १५ गतेसम्म विद्यालय बन्द

२0७८ माघ १ शनिबार
माघ १५ गतेसम्म विद्यालय बन्द

उदयपुर

फैलिदो कोविड ओमिक्रोन भेरिएन्टको जोखिमबाट बँच्न उदयपुरका विद्यालयहरु बन्द गरिएका छन् । आउँदो १५ गतेसम्मका लागि जिल्लाका सबै विद्यालय बन्द गर्ने  कोविड शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र जिल्ला कोविड शंकत व्यवस्थापन समिति (डिसिसिसिएमसी) को निर्णय अनुसार पठनपाठन रोकिएको हो । 


सिसिएमसीले २७ देखि र डिसिसिएमसीले २८ देखि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई उद्धृत गर्दै नगर तथा गाउँपालिकाहरुले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । जस अनुसार त्रियुगा नगरपालिकाले माघ २ गतेदेखि १५ गतेसम्म पठनपाठन रोक्ने निर्णय गरेको छ भने चौदण्डीगढी र बेलका नगरपालिकाले २८ देखि बन्द गरेका छन् । कटारीले पनि पठनपाठन रोकेको जनाएको छ । 


ओमिक्रोनको बढ्दो संक्रमणको जोखिमबाट बालबालिकालाई बँचाउन विद्यालय बन्द गर्नुपरेको गाउँ तथा नगरपालिकाहरुले जनाएका छन् । परीक्षा भईरहेका विद्यालयहरु भने सुचारु छन् । तर, परीक्षा भईरहेका विद्यालयमा दूरी कायम गर्न, स्वास्थ्य मापदण्ड अपनाउन निर्देशन दिइएको छ । 


उदयपुृरमा पनि संक्रमण धमाधम देखिन थालेको छ । ३ दिनयता ३० जनामा कोविड पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उनीहरु सबैको एन्टीजेन परीक्षण गर्दा कोविड संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमु्ख बृजकुमार दासले बताएका छन् । 


संक्रमणको जोखिमबाट बँच्न जिल्ला प्रशासन कार्यालय उदयपुरले पुस २७ गते नै विद्यालय बन्द गर्न तथा अन्य स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको छ । डिसिसिएमसी बैठकको निर्णय अनुसार बालबालिकालाई संक्रमणबाट बँचाउन पठनपाठन रोक्न तथा अनिवार्य मास्क लगाउन, २५ जनाभन्दा बढी जमघट नगर्न, अनावश्यक भेला नगर्न निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।