फोनिज प्रदेश १ मा उदयपुरबाट २ उपाध्यक्ष

२0७८ पुष २९ बिहीबार
फोनिज प्रदेश १ मा उदयपुरबाट २ उपाध्यक्ष

उदयपुर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को भर्खरै सम्पन्न दोस्रो ऐतिहासिक महाधिवेशनबाट उदयपुरका २ उपाध्यक्षसहित ३ जनाको प्रतिनिधित्व भएको छ । मोरङको पथ्रीस्थित सिन भिलेज पाटी प्यालेसमा गत २६ देखि २८ सम्म आयोििजत महाधिवेशनले सर्वसम्मत चयन गरेको २१ सदस्यीय प्रदेश समितिको उपाध्यक्षमा राजेन्द्र राई (दुष्ट) र अप्सरा समाल छानिएका छन् । लेखा समिति सदस्यमा नेत्रकुमार सुनुवार (सञ्चार) छानिएका छन् ।


‘समानुपातिक, समावेशी र समृद्धिका लागि हाम्रो कलम’ भन्ने नाराका साथ सम्पन्न महाधिवेशनले धनकुटाका पत्रकार सन्तवीर लामाको अध्यक्षतामा गठित समितिमा चौदण्डीगढीमा कार्यरत दुष्ट र रेडियो उदयपुरकी समाल उपाध्यक्ष चयन गरेको फोनिज उदयपुरका अध्यक्ष इश्वर बलम्पाकी मगरले बताए । 


अध्यक्षका आकांक्षी धेरै भएका कारण सर्वस्म्मत नेतृत्व छान्न ३ दिनसम्म प्रयास गर्नु परेको थियो । समितिको महासचिव सुशन राई छानिएका छन् भने सचिवद्वयमा सन्देश सुब्बा र प्रदिप चौधरी तथा कोषाध्यक्ष प्रेम देवान छानिएका छन् । संस्थागत सदस्य क्रमशः बसन्त पालुङ्वा, मोहन तामाङ, संदिप राई, ब्रम्हलाल हजारी, महिला सदस्यमा सुप्रिया राई, शर्मिला राई र प्रमिला श्रेष्ठ तथा अल्पसंख्यक सदस्य विजय धिमाल छानिएका छन् । 


खुल्लातर्फ सदस्यमा छानिने पत्रकारहरुमा खनेन्द्र कुलुङ, अतित योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलबी लावती र बाबुराम मुडीयारी छानिएको निर्वाचन समितिका संयोजक कौशल चेमजोङले बताए । महाधिवेशनले ३३ सदस्यीय लेखा समिति र अनुशासन आयोगको पनि गठन गरेको छ । 


नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यलाई बिहीबार विहानै फोनिजका प्रदेश इन्चार्ज तथा केन्द्रीय प्रतिनिधि दिपिन राईले सपथ खुवाएका छन् ।