माझखर्कका संपादकलाई सम्मान 

२0७८ पुष २९ बिहीबार
माझखर्कका संपादकलाई सम्मान 

माझखर्क अनलाईन तथा माझखर्क साप्ताहिकका संपादक प्रकाशक महेश्वर चामलिङ सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ ले चामलिङलाई सम्मान गरेको हो । 


मोरङको पथ्रीमा भर्खरै सम्पन्न फोनिजको दोस्रो प्रादेशिक महाधिवेशन उद्घाटन समारोहमा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले चामलिङलाई सम्मानपत्र प्रदान गरे । त्यस्तै फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङले खादा र माला लगाएर चामलिङलाई अभिनन्द गरेका थिए । 


अढाई दशकदेखि पत्रकारितामा सक्रिय कलम चलाउँदै आएका चामलिङलाई आदिवासी जनजातिको उत्थान, संस्थागत र सामुदायिक हितमा केन्द्रित रही कलम चलाएर समाज रुपान्तरण र विकास निर्माणमा अमूल्य योगदान गरेको भन्दै सम्मान गरिएको आयोजक फोनिजका निवर्तमान प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईले बताए । उनले अग्रजको सम्मान गर्ने यो परम्परालाई आगामी दिनमा पनि निरन्तरता दिदै लगिने बताए । 


चामलिङले उदयपुरबाट पहिलो पटक माझखर्क साप्ताहिकलाई व्यवसायिक र निरन्तर प्रकाशित गर्न थालेका थिए । माझखर्क साप्ताहिककै सहप्रकाशनमा जिल्लामै पहिलो व्यवसायिक पत्रिका मुलुकीखवर दैनिक, माझखर्कडटकम पनि हाल सञ्चालनमा छन् । चामलिङ राष्ट्रिय सञ्चार उद्यम नेपाल रिपब्लिक मिडिया प्रालिले प्रकाशन गर्दै आएको नागरिक दैनिक र त्यसकै अंग्रेजी संस्करण माईरिपब्लिका डेली पत्रिकाका संस्थापक जिल्ला संबाददातासमेत हुन् । 


उनी नेपाल पत्रकार महासंघ उदयपृुर शाखाका सचिव, दुई कार्यकाल अध्यक्ष र ३ कार्यकाल केन्द्रीय पार्षदसमेत भईसकेका छन् ।