एमाले उदयपुर अध्यक्षमा प्रमेश घिमिरे

२0७८ पुष २६ सोमबार
एमाले उदयपुर अध्यक्षमा प्रमेश घिमिरे

उदयपुर

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) उदयपुरको आठौँ जिल्ला अधिवेशनले प्रमेश घिमिरेको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन गरेको छ । ४ दिनसम्म चलेको बन्दशत्रमा अध्यक्षका ३ आकांक्षीमध्ये घिमिरे सर्वसम्मत नेतृत्व गर्न सफल भएका हुन् । 


शुक्रबार सुरु अधिवेशनको बन्दशत्रले गठन गरेको पार्टी पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज मञ्जुकुमारी चौधरीको अध्यक्षतामा गठित अध्यक्षमण्डलले नेतृत्व सर्वसम्मत चयन गरेको हो । 


त्यसैगरी उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ छानिएका छन् भने सचिवमा अध्यक्षका दावेदार कालु लामालाई समेटिएको छ । अर्का अध्यक्षका दावेदार खड्ग परियारलाई सचिवालय सदस्य बनाउने तयारी भईरहेको बताइएको छ । उपाध्यक्षका अर्का दावेदार भरत थापा उपसचिवमा सीमित भएका छन् अर्का उपसचिव टेकबहादुर राउत छानिएका छन् । उनी सुरुदेखि सचिवका दावेदार थिए् । 


सुरुमा अध्यक्षमा दावी गरे पनि सर्वसम्मतका लागि पछि हटेका कुशलबाबु बस्नेत पनि सचिव हुन पाएनन् । उनले अधिवेशन हुनुभन्दा सातादिनअघि नै समूह बनाएर अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए । दुई महिलासहित ३ जना उपसचिवका दावेदारहरु कोही बाजी मार्न सफल भएनन् । महेश्वरी राई, सिर्जना दनुवार र खगेन्द्र पोखरेलको उपसचिवको दावी सर्वसम्मत नेतृत्व चयनले धुलिचाट बनाईदियो । 

 
शुक्रबार होटल टाउनहलको सभाकक्षमा उद्घाटन भएको अधिवेशन अध्यक्षका आकांक्षी धेरै भएपछि बन्दशत्र सुरु हुनासाथ अध्यक्षमण्डल घोषणा गरेर स्थगित भएको थियो । सर्वसम्मत नेतृत्व चयन हुन नसम्दा अधिवेशन ४ दिनसम्म लम्बिएर सोमबार सकिएको हो । 


यसअघिको ६५ सदस्यीय जिल्ला कमिटीमा पुराना सदस्य सबैलाई कायम गर्दै २९ जना महिला र ८ जना पुरुष सदस्य थपेर अविधेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । ४ नगर र ४ गाउँपालिका रहेको उदयपुृरमा सबैबाट पार्टी कमिटीमा प्रतिनिधित्व गराउने प्रयास भएको बताइएको छ । त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका तथा उदयपरगढी, रौतामाई, ताप्ली र लिमचुङबुङ गाउँपालिकाबाट सकेसम्म सन्तुलित प्रतिनिधित्व गराउने प्रयास भएको पार्टीले जनाएको छ । 


बिकट गाउँपालिका लिमचुङबु्ङबाट ५ जना नयाँ कमिटीमा सदस्य परेका छन् । जसमा बोधहादुर मगर, बिनोद राई, डिगबहादुर राउत, जानुका राई र बिर्सीमाया मगर छन् । थापामगर जिल्ला समन्वय समिति सदस्य हुन् भने राई पूर्व सचिवालय सदस्य, राउत ३ नं. वडाध्यक्ष, जानुका गाउँ कार्यपालिका सदस्य र बिर्सीमाया गाउँपालिका सदस्य हुन् । 


नवगठित कमिटीका पदाधिकारी र सदस्यलाई मंगलबार विहान सपथ खुवाउने कार्यक्रम तय भएको अध्यक्षमण्डलकी अध्यक्ष चौधरीले बताएकी छिन् ।