नेपालमा विश्वकै दोस्रो लामो जिपलाईन

२0७८ पुष २४ शनिबार
नेपालमा विश्वकै दोस्रो लामो जिपलाईन

उदयपुर

विश्वमै दोस्रो लामो दूरीको जिपलाईन नेपालमा बनेको छ । पर्वतको कुस्मा नगरपालिका ५ मा निर्मित १ हजार ४ सय मिटर लामो जिपलाईन आउँदो शनिबारदेखि सञ्चालनमा आउन लागेको छ ।

 

विश्वकै दोस्रो लामो भएकाले यसको नाम सुपरम्यान जिपलाईन राखिएको जिपलाईन सञ्चालक समितिका अध्यक्ष विदुर पौडेलले बताए । उनका अनुसार निर्माण कार्य सकिदै गएपछि केही दिनदेखि लगातार जीपलाइनको परीक्षण भईरहेको छ । परीक्षण सफल भईसकेकाले अव व्यवसायिक रुपमा सञ्चालनको तयारी भएको उनले बताए ।

 

जिपलाइन सञ्चालक समितिका प्रमुख संरक्षक रामचन्द्र जोशीका अनुसार व्यवसायिकरूपमा सञ्चालन गर्ने तयारी भएकाले टिकट बुकिङ खुल्ला गरिएको छ । सुरुमा जिपलाईन चढ्ने टिकटको मूल्य प्रतिव्यक्ति ३ हजार ५ सय तोकिएको छ। एकैपटक दुईजना बस्न मिल्ने जिपलाईन नेपालको पहिलो भएको पनि सञ्चालक समितिले जनाएको छ ।

 

जोसीले जिपलाईनसँगै रिसोर्ट पनि सञ्चालनको तयारीमा पुगेको बताए । कालीगण्डकी नदीको सतहबाट २ सय ३८ मिटर उचाइमा पर्ने कुस्मा ५ को चाक्ले डिलबाट सुरु हुने जिपलाईन कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्मको छ । १ हजार ४ सय मिटर पार गर्न जिपलाइनमा ६० देखि ९० सेकेण्डमा कालीगण्डकी तीरमा रहेको रिसोर्टमा पुग्नेछ ।

 

भारतको श्याम जिपलाइन कम्पनीले निर्माण गरेको जिपलाइन हावाको गति र खेलाडीको तौलमा भरपर्ने भए पनि, यात्रा सुरु गर्दा प्रतिघण्टा १ सय ३० किलोमिटर गतिको जिपलाईन गन्तव्य नजिकिँदै गएपछि बिस्तारै गति ढिलो हुँदै जाने गर्दछ।

 

पर्यटन प्रवद्र्धनको मुख्य लक्ष्य लिएर निर्माण गरिएको जिपलाईनसँगै हाईड्रोलिक पिङको पनि व्यवस्था गरिएको लगानीकर्ता कम्पनीले जनाएको छ । विश्वको सबैभन्दा लामो जिपलाईन दुवईमा रहेको छ । जसको दूरी २ हजार ८ सय मिटर रहेको छ ।