एमाले उदयपुरको अधिवेशन सुरु, अध्यक्षका आकांक्षी आधादर्जन बढी

२0७८ पुष २३ शुक्रबार
एमाले उदयपुरको अधिवेशन सुरु, अध्यक्षका आकांक्षी आधादर्जन बढी

उदयपुर

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) उदयपुरको आठांै जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । सदरमुकाम गाईघाटस्थित टाउन हल होटलको सभाकक्षमा सुरु अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने भनिए पनि अध्यक्षका आकांक्षी भने धेरै देखिएका छन् । 


पार्टीमा गुटबन्दी बढेको भन्दै त्यसका अन्त्य गर्न सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने भनिए पनि आकांक्षी धेरै देखिएका कारण सर्वसम्मत हुने संभावना निकै कम रहेको नेता कार्यकर्ताकै स्वीकारोक्ति छ । चितवन महाधिवेशनमा केपी ओलीको सर्वसम्मत अध्यक्ष हुने प्रयासलाई पूर्व उपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी दिएर बिफल पारेको असर देशभर देखिने क्रममा उदयपुर पनि अछुतो नरहने देखिएको छ । 


अधिवेशन सुरु नहुँदै आधादर्जन बढीले अध्यक्षमा दावी गरेका हुन्, जसमध्ये ३ जनाले उम्मेदवारी घोषणासमेत गरिसकेका छन् । कोही सर्वसम्मत पाए मात्र नेतृत्व लिने दाउमा छन् भने कतिपय चुनावी प्रतिस्पर्धा गरेरै अध्यक्ष हत्याउने प्रयासमा छन् । 


हालका जिल्ला सचिव प्रमेश्वर घिमिरे र सचिवालय सदस्यहरु कुशल बस्नेत र कालु लामाले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । घिमिरे र बस्नेतले प्यानलरहित  उम्मेदवारी घोषणा गर्दा लामाले टेकबहादुर राउतलाई सचिव बनाएर अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । 


हालका अध्यक्ष इश्वरमणि राउत, उपाध्यक्ष बिमल कार्की, सचिवालय सदस्इ तथा जिल्ला समन्वय समिति प्रमुख खड्ग परियार, अघिल्लो अधिवेशनका पराजित उम्मेदवार दुर्गाकुमार थापा, पराजित सचिव गोपाल खत्री पनि अध्यक्षका दावेदार हुन् । तर, उनीहरुले भने सर्वसम्मत पाए मात्र अध्यक्ष हुने बताईरहेका छन् । 


परियारले औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि पार्टीलाई गरेको योगदानको कदरस्वरुप आफु अध्यक्ष हुनुपर्ने दावी गरेका छन् । पार्टी निकट दलित संगठन, समन्वय समिति महासंघ, पार्टी सचिवालय सदस्य भएर ३ दशक बढी अनवरत र सक्रिय योगदान गरेको भन्दै उनले आफुलाई अध्यक्षको योग्व्य र सवल उम्मेदवार ठान्छन् उनी । 


ओलीको ०७७ पुस ५ गतेको संसद विघटनको कदमपछि पुनगर्ठित केन्द्रीय समितिमा  सदस्यसमेत मनोनित परियारले पार्टीलाई असल अभिभावकीय नेतृत्व प्रदान गर्न आफु अध्यक्षको हुनुपर्ने दावी गरेका छन् ।