बालबालिकालाई कोविडविरुद्धको खोप धमाधम दिइदै

२0७८ पुष १२ सोमबार
बालबालिकालाई कोविडविरुद्धको खोप धमाधम दिइदै

उदयपुर

उदयपुरका बालबालिकालाई कोविडविरुद्ध दिइने मोडर्ना खोप जिल्लाभरी सुरु भएको छ । १२ देखि १७ वर्षसम्म उमेर समूहका बालिबालिकालाई लक्षित गर्दै दिइने खोप जिल्लाका ८ वटै स्थानीयतहमा दिन थालिएको हो । 

 


४ नगर र ४ गाउँपालिकामध्ये ताप्ली र उदयपुरगढी गाउँपालिकामा गत ८ गतेदेखि नै खोप दिन सुरु गरिएको हो । त्यस्तै कटारी नगरपालिकामा ९ गतेदेखि, बेलका र चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकामा १० गतेदेखि खोप दिइर्दैछ । लिमचुङब्ङ गाउँपालिकामा ११ गतेदेखि खोप दिइदै छ भने त्रियुगा नगरपालिका र उदयपुर जिल्ला अस्पताल गाईघाटमा १२ गते सोमबारदेखि दिन थालिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 


अमेरिकन कम्पनीको मोडर्ना खोप जिल्लाभरका स्वास्थ्यचौकीमार्फत विद्यालय विद्यालय पुगेर स्वास्थ्यकर्मी टोलीले दिदै गरेको खोप स्वास्थ्य कार्यालयका सुपरभाईजर चिरञ्जिवी निरौलाले बताए । उनका अनुसार सबै स्थानीयतहका स्वास्थ्य चौकीमा पठाइएको खोप स्वास्थ्य कर्मचारीको टोली विद्यालयमै पुगेर बालबालिकालाई खोप दिने कार्यक्रम रहेको छ । निरौलाका अनुुसार मोडर्ना खोप हाल उदयपुरमा ४३ हजार ३ सय थान आएको छ । 


आएको खोप त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका तथा तथा ४ गाउँपालिका लिमचुङब्ङ, रौतामाई, ताप्ली र उदयपुरगढी गरी ८ वटै स्थानीयतहमा बितरण गरिएको छ । सदरमुकाम त्रियुगालाई सबभन्दा बढी १६ हजार ३ सय खोप दिइएको छ भने कटारीलाई ७ हजार ५ सय र चौदण्डीगढी तथा बेलका नगरपालिकालाई समान ५ हजार २ सय थानका दरले पठाइएको छ । 


त्यसैगरी उदयपुरगढी गाउँपालिकालाई ३ हजार ५ सय, रौतामाईलाई ३ हजार, लिमचुङबुङ र ताप्ली गाउँपालिकालाई क्रमशः १ हजार ५ सय र १ हजार ३ सय थान खोप पठाइएको निरौलाले बताए ।


स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासका अनुसार हरेक वडा स्वास्थ्य चौकीबाट खट्ने स्वास्थ्यकर्मी टोली विद्यालयमै पुगेर खोप दिइने गरेको छ । जिल्लाका ४६ वटा स्वास्थ्य चौकीमार्फत दिइने खोप अभियान आउँदो १५ गतेसम्म दिने कार्यतालिका रहेको उनले बताए । 


यता सदरमुकाम त्रियुगाका बिभिन्न विद्यालयमा सोमबार दिइएको खोप अभियानको अनुमगन गर्दा राम्रो पाइएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा १६ नं. वडाध्यक्ष मानबहादुर राईले बताए । उनका अनुसार पहिलो चरणमा सरकारी तथा सामुदायिक विद्यालयमा खोप दिइने र नीजि विद्यालयहरुमा दोस्रो चरणमा दिने कार्यक्रम छ ।