बिप्लब युवाले सरकारी कार्यालयदेखि सडकसम्म सरसफाई गरे

२0७८ पुष १२ सोमबार
बिप्लब युवाले सरकारी कार्यालयदेखि सडकसम्म सरसफाई गरे

उदयपुर

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको १२९ औ जन्मदिन नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भव्य रुपमा मनाएको छ । माओ जयन्तीको अवसर पारेर आईतबार नेकपानिकट युवा संगठन नेपालले सरसफाई कार्यक्रम गर्दै एक महिने ‘जनमत संग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान’समेत थालेको छ । 


पार्टीनिकट युवा संंगठनमा आवद्ध ५ सय बढीको जमातले सदरमुकाम गाईघाटका सरकारी कार्यालय परिसरदेखि सडकसम्मको सरसफाई गर्दै पार्टीले अभियानको थालनी गरेको हो । एकीकृत जनक्रान्ति गर्दै आएको नेकपाले युवा संगठनमार्फत जनमत संग्रहका लागि जनउभार ल्याउन अभियान थालेको युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष ‘पाटन’ले बताए । 


उनले नेपालमा राजनीतिक दलदेखि सरकारी गैरसरकारी कार्यालय जताततै फोहरै फोहर भएकाले सरसफाई गर्ने सन्देश दिन कार्यक्रम गरिएको बताए । सरकारी कार्यालयमै सबभन्दा बढी फोहर रहेकाले त्यहीँबाट सरसफाई गर्न थालेको उनले बताए । 


‘नेपालमा राजनीतिदेखि कार्यालय, समाज, व्यक्ति सबैतिर फोहर थुप्रिएको छ तर, सबभन्दा बढी सरकारी कार्यालयमा डंगुर लागेको छ’ सरसफाई अभियानबारे संक्षिप्त भनाई राख्दै पाटनले भने ‘त्यसैले युवाहरुले सरकारी कार्यालयबाट सरसफाई थालेका हौं । यो कार्य कार्यालयदेखि सडकसम्म गर्दै जान्छौं ।’


बोक्सेस्थित जिल्ला प्रशासन कार्यालय उदयपुरबाट सुरु गरेको सरसफाई टोलीले प्रशासनपछि जिल्ला अदालत, डिभिजन वन, मालपोत, शिक्षा तथा समन्वय इकाई, सरकारी वकिल, गाईघाट दिक्तेल सडक, आयुर्वेद औषधालय, कोष तथा लेखा नियन्त्रण र कोसी जलाधार हुँदै गाईघाटसम्म सरसफाई गरेको थियो । 


सरसफाई टोलीमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिबेक कुमाल, उदयपुर सेक्रेटरी लक्ष्मण पौड्याल, कार्यालय सचिव दुर्गा तामाङलगायत नेता कार्यकर्ताको पनि सहभागिता थियो । राष्ट्रिय झण्डा र पार्टीको हसियाहथौडा अंकित झण्डा बोकेको सरसफाई टोली बोक्सेदेखि गाईघाटसम्ममा कुचो लगाईसकेपछि बिभिन्न नारा लगाउँदै ¥यालीमा परिणत भएको थियो । ¥याली बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । 


¥यालीदेखि कोणसभासम्म संसदीय ब्यवस्थाविरुद्ध चर्को नाराबाजी गर्दै जनमत संग्रह गर्नुपर्ने माग भएको थियो । संसदीय व्यवस्था निकम्मा सावित भईसकेकाले अवको बिकल्प जनमत संग्रहमार्फत रोज्नुपर्ने अवस्था आएको पाटनले बताए । ‘संसदीय व्यवस्था’ याण् ‘वैज्ञानिक समाजबादी व्यवस्था’ भन्ने दुई विषयमा केन्द्रित रहेर जनमत संग्रह गर्ने पार्टीको माग रहेको भन्दै उनले जुनमा जनताले बढी मत दिन्छन् त्यहीँ व्यवस्था मान्नुपर्ने बताए । 


अभियानका लागि पार्टीले ‘राष्ट्रियता, जनतन्त्र, जनजिवीका र सामाजिक विकृतिविरुद्ध सशक्त आन्दोलन गराँै, जनमत संग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान भव्यरुपमा सफल पारौँ’ भन्ने नारा अघि सारेको छ । सदरमुकामपछि उदयपुरकै अन्य स्थानीयतह र उदयपुरपछि २ नं. प्रदेशका सप्तरी र सिराहामा पनि जनमत संग्रहबारे सचेत गराउन विस्तार अभियान गर्ने कार्यक्रम रहेको सेक्रेटरी पौड्यालले बताए ।