‘ए डिभिजन लिग फुटबल’ गाईघाटमा सुरु

२0७८ पुष १0 शनिबार
‘ए डिभिजन लिग फुटबल’ गाईघाटमा सुरु

उदयपुर

शनिबारदेखि गाईघाटमा ‘ए डिभिजन लिग फुटबल प्रतियोगिता ०७८’सुरु भएको छ । गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य तथा पूर्व प्रवक्ता किरण राईले रेफ्रीलाई बल हस्तान्तरण गरेर गरे । 

 

आउँदो २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा गाईघाट फुटबल क्लव गाईघाट र लाली गुराँस फुटबल क्लव भागलपुर बेलका १ विजयी भएका छन् । गाईघाटले पहिलो खेलमा त्रियुगा नगरपालिका ४ बगाहा युवा समूहलाई १ का विरुद्ध १० गोल गरेर शानदार जित गरेको थियो । 


खेल सुरु भएदेखि नै गोलको वर्षा गरेको गाईघाटका १० खेलाडीले पालैपालो गोल गरेका थिए । एक खेलाडीको प्रहार भने आत्मघाती हुन पुगेपछि बगाहा समूह निल हुनबाट जोगिएको थियो ।


दोस्रो खेल बेलका नगरपालिका १ भागलपुरस्थित लालीगुराँस फुटबल क्लबले जितेको छ । लाली गुराँसले मेधावी फुटबल क्लव जलजलेलाई १–० गोलले पराजित गर्न सफल भएको हो । लाली गुराँसका खेलाडी बिबेक मगरले खेल सुरु भएको ६२ औं मिनटमा गोल गरेर टिमलाई विजयी गराएका हुन् । 


आईतबार पहिलो खेल प्mयूजन फुटबल क्लव बोक्से र बगाहा फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेलमा चौदण्डीगढीको बेलटार फुटबल क्लव र नवप्रतिभा फुटबल क्लव गाईघाटबीच प्रतिस्पर्धा हुने आयोजक एन्फा उदयपुरका अध्यक्ष  रञ्जन कार्कीले बताए । 


कार्कीका अनुसार प्रतियोगितामा बेलका, त्रियुगा र चौदण्डीगढीका गरी ८ वटा समूहको सहभागिता हुनेछ । गाईघाट फुटबल क्लव, प्mयुजन फुटबल क्लव बोक्से, नवप्रतिभा नेपाल गाईघाट, बेलकाको लालीगुराँस,  चौदण्डीगढीको बेलटार एकता क्लब, मेधावी जलजले र बगाहा क्लव तथा बगाहा युवा समूह रहेका छन् । 


प्रतियोगिताको विजेता समूहले प्रथम पुरस्कारवापत ट्रफि र नगद ५० हजार पाउनेछ भने उपविजेताले ३० हजार नगद र सिल्ड तथा प्रमाणपत्र पाउने छ । बिभिन्न विधागत पुरस्कारवापत २ हजार नगदका साथ सिल्ड र प्रमाणपत्र दिइने प्रतियोगिताको तयारीका लागि लाली गुराँसलाई २५ हजार र अन्य ७ वटा समूहलाई २० हजारका दरले सहयोग गरेको कार्कीले बताएका छन् । 


विजेता समूह प्रदेशस्तरीय लिगमा सहभागी हुन पाउने प्रावधान रहेको छ ।