३ महिलासहित ११ फरार अभियुक्त पक्राउ

२0७८ पुष १0 शनिबार
३ महिलासहित ११ फरार अभियुक्त पक्राउ

उदयपुर

उदयपुर प्रहरीले अपराधमा संलग्न भई फरार ३ महिलासहित दर्जन अभियुक्तलाई पक्रेको छ । एकवर्षदेखि १० वर्षअघिसम्म फैसला भए पनि भाग्दै आएका उनीहरुलाई खोजबिनको क्रममा पक्राउ गर्न प्रहरी सफल भएको हो ।


अदालतको फैसला अनुसार दोषी प्रमाणित भए पनि भाग्दै आएका वन मुद्धामा ८ र लागूऔषधका ३ गरी गरी ११ जना फरार अभियुक्त उनीहरुकै घरबाट बिहीबार र शुक्रबार पक्राउ परेका हुन् । 


पक्राउ पर्नेमा लागूऔषध मुद्धाका भक्तबहादुर राई, कृष्णबहादुर राई र अशोक राई छन् । जिल्ला अदालत उदयपुरको ०७७ फागुन २३ गतेको फैसला अनुसार बेलका नगरपालिका ९ का २५ वर्षीय कृष्णबहादुर राई र बेलकाकै ९ का १९ वर्षीय अशोक राई छन् । कृष्णबहादुरलाई १ वर्ष ६ महिना र भक्तबहादुरलाई १० महिना कैद सजाय सुनाइएको छ । 


यता त्रियुगा नगरपालिका २ खैजनपुर एकै गाउँका ३ महिलासहित ६ जनालाई एकैदिन एउटै प्रकृतिको वन मुद्धाका फरार अभियुक्त पनि पक्राउ परेका छन् । जनही १ लाख ३६ हजार ६ सय ६७ रुपैंया जरिवाना तोकिएको पक्राउ उनीहरु ३० वर्षीय दिलिप चौधरी, ३३ वर्षीय राजिन चौधरी, ३३ वर्षीय वीरेन चौधरी, ३५ वर्षीया रीता चौधरी, ३२ वर्षीया पवित्रा चौधरी र ३४ वर्षीया दुर्गा चौधरी रहेका छन् । 


वन मुद्धामै उदयपुरगढी गाउँपालिका ६ का भक्तबहादुर खत्री पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले ०७७ फागुन २३ गतेको फैसलामा १० महिना १५ दिन कैद सजाय सुनाएको छ ।