६ दलीय मोर्चाको एमसीसीविरुद्ध प्रदर्शन 

२0७८ पुष ६ मंगलवार
६ दलीय मोर्चाको एमसीसीविरुद्ध प्रदर्शन 

उदयपुर

अमेरिकन परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)’ विरुद्ध उदयपुरका आधादर्जन राजनीतिक दलहरुको संयुक्त आयोजनामा मंगलबार बिरोध प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको नेपाल कम्युनिष्ट वैज्ञानिक समाजबार्दी, सिपी मैनाली नेतृत्वको नेकपा (माले) र ऋषि कट्टेलको नेकपाको संयुक्त आयोजनामा गाईघाटमा बृहत विरोध प्रदर्शन भएको हो । 


गाईघाट लोकतान्त्रिक चोकबाट दिउँसो १ः०० बजे निस्केको विरोध ¥याली एमसीसी खारेजीको बिभिन्न नारा लगाउँदै बजार परिक्रमापछि पुनः लोकतान्त्रिक चोकमै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बिप्लब नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले बोल्दै एमसीसी सम्झौता रास्ट्रघाति र जनघाति भएकाले कुनै हालतमा पास हुन नहु्ने अडान लिए । 


एमसीसीको गलतपक्षबारे जनस्तरसम्म जानकारी दिन आफुहरुले देशव्यापी विरोध कार्यक्रम गर्दै आएको भन्दै यसविरुद्ध जनमत तयार गर्ने अभियानमा लाग्न सबै राजनीतिक दलहरुलाई आग्रह गरे । अमेरिकी साम्राज्यबादको ज्युँदो नमूना एमसीसी भएको भन्दै उनले यो परियोजना पास भए नेपालको संविधान अमेरिकाको नियन्त्रणमा पुग्ने खतरा औंल्याए । 


एमसीसी सम्झौता लागू गरेर नेपालमा अमेरिकाले समानान्तर सरकार सञ्चालन गर्न खोजेको आरोप लगाउँदै पौड्यालले यो परियोजनामार्फत नेपालको स्वाधिनता समाप्त पार्न खोजिएको बताए । देशव्यापी रुपमा विरोध भईरहे पनि काँग्रेस र एमालेले संसदबाट एमसीसी पारित गराएरै छाड्ने षडयन्त्र गरिरहेको बताउँदै त्यसको भण्डाफोर गर्न देशबासी नागरिकलाई सचेतना अभियान चलाएको बताए ।


बिरोध कार्यक्रममा नेकपा (क्रान्तिकारी) का केन्द्रीय सदस्य मोहनसिंह तामाङ, वैज्ञानिक समाजबादीका केन्द्रीय सदस्य गोकुल चामलिङ, जनगणतान्त्रिक मोर्चाका संयोजक लिलबहादुर विश्वकर्मालगायतले बोलेका थिए । उनीहरुले एमसीसी खारेज गर्नुको बिकल्प नभएको प्रष्ट्याउँदै एमसीसीले नेपाल र नेपाली जनताप्रति गम्भीर धोका हुने भएकाले देशव्यापी आन्दोलन चलाउनुपर्ने बताए । 


एमसीसी पास हुन नदिएर राष्ट्रिय स्वाधीनता बचाउन गरिएको आन्दोलनमा सम्पूर्ण देशभक्त, प्रगतिसिल, शिक्षक, बुद्धिजीवि, विद्यार्थी, महिला र श्रमजीवि स्वाधिन नेपाली जनता एकताबद्ध हुन उनीहरुको आव्हान थियो ।