सै ढोले सै, किरात प्रदेश खोई ? 

२0७८ पुष ४ आईतवार
सै ढोले सै,  किरात प्रदेश खोई ? 

उदयपुर

किरात संवत ५०८१ को साकेला उधौली (छिरीनाम) उदयपुरमा आईतबारदेखि धुमधामसँग मनाइदैछ । उधौली मनाउने क्रममा १ नं. प्रदेशको नाम ‘किरात’ राख्न माग गर्र्दै यहाँका अगुवाहरुले भूमि पुजामा प्रार्थना नै गरे । किरात राई यायोक्खाद्वार सदरमुकाम गाईघाटस्थित साकेलाथानमा भूमि पुजा गर्दै प्रदेशको नाम किरात राख्न र छिट्टै नामाकरण गर्न प्रार्थना गरेका हुन् । 

 


किराती समुदायको महान् चाड छिरीनाममा १ नं. प्रदेशको नामाकरण किरात हुनुपर्नेमा जोड दिदै यसले सभ्यता र पहिचानको संवोधन गर्ने बताए । भाषाशास्त्री डा. कैलाश राईले संघीयता र गणतन्त्रले पहिचानको उजागर गरेको तर, प्रदेश नामाकरणमा राजनीतिक दलहरुले बिबेक नपुर्याएको प्रतिक्रिया दिदै १ नं. को नाम चाहि किरात नै राख्नुपर्नेमा जोड दिए । 


‘१ नं. प्रदेशको नाम पहिचान र सभ्यताको आधारमा किरात नामाकरण हुनुपर्छ’ डा. राईको जोड थियो ‘देशका अन्य ५ वटा प्रदेशको नाम पहिचानविहीन भएको छ, त्यसले गर्दा पहिचानसहितको संघीयता भन्ने उरालिएको नारा खोक्रो सावित भएको छ । अव १ नं. को नाम किरात र २ नं. को पनि पहिचानको आधारमा नामाकरण हुनुपर्छ ।’ यसो गर्दा मात्र गणतन्त्र र संघीयताको मर्म र भावनाको कदर हुने तथा वहुसंख्यक प्रदेशवासीको माग संवोधन हुने डा. राई बताउँछन् । ‘किरात’ शब्दलाई कतिपयले जातीगत भएको भन्दै अपव्याख्या गरेको उनको बुझाई छ । किरात शब्द जातीय नभएर सभ्यता हो भन्दै उनले यो शब्दलाई समुदायगत नभनेर सभ्यताको संज्ञा दिनुपर्ने बताए । 

 


किराती नछुङ (बिजुवा) राजु राईले प्रदेशको नाम किरात राख्नुपर्नेमा जोड दिदै देशका अन्य प्रदेशको नामाकरढा नदीनालाबाट राखेकोमा असन्तुष्टि जनाए । ‘पहिचान मान्छेलाई चाहिएको हो, खोलानाला, पार्खापर्वत र ढुंगामाटोले मागेको होईन’ उनले भने ‘त्यसैले मान्छेको माग संवोधन गर्न १ नं. प्रदे्शको नाम किरात राख्नुपर्ने र यसमै जनताको पहिचान र सभ्यता झल्कन्छ ।’


 
नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष भोटराज राईले १ नं. प्रदेशको नाम ‘किरात’को बिकल्प हुनै नसक्ने बताए । अन्य प्रदेशको नाम पहिचानविहीन राखेर जनताको मागलाई बेवास्ता गरिए पनि १ नं. को नाम किरात प्रदेश राखेर पहिचान र सभ्यता झल्काउन नेताहरु अग्रसर हुनुपर्ने उनको भनाई थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणपछि वल्लो किरात, माझ किरात र पल्लो किरात भनेर दस्तावेजीकरण गरेको भन्दै उनले त्यही आधारमा पनि प्रदेश १ को नाम किरात राख्न साझा सहमति हुनुपर्ने राईको भनाई थियो । 


किरात राई यायोक्खा उदयपुरका कार्यवाहक अध्यक्ष नविन राईले प्रदेश १ को नाम किरातभन्दा अर्को कल्पनै गर्न नहुनेमा जोड दिए । गगणतन्त्र र संघीयताको मर्म र भावना भनेकै पहिचान भएकाले पनि १ नं. प्रदेशको नाम पहिचानको आधारमा किरात राख्नुको विकल्प नभएको उनको भनाई थियो । पत्रकार गजेन्द्र राई, कर्मचारी सशिका राई, समाजसेवी गीता राई र युवा दिपक राईले प्रदेशको नामाकरण गर्दा किरातबाहेक अन्य नाम हुनै नसक्ने बताए ।

  
किरात संवत (येले दुङ) हाल ५०८१ पुगिसकेको र यो संवत विश्वको सबभन्दा पुरानो सभ्यता भएको सहभागीहरुको भनाई थियो । यो ऐतिहासिक तथ्यलाई आत्मसात गर्दै प्रदेशवासीको माग संवोधन गर्न किरात प्रदेश नामाकरण हुनुपर्नेमा अगुवाहरुको जोड थियो । किराती राजा यलम्बरको शासनकालदेखि चलिआएको किरात संवत विश्वका संवतमध्ये सबभन्दा पुरानो रहेको डा. राईले बताए । माघ १ गतेदेखि नयाँ संवत सुरु हुने येले दुङ आउँदो माघदेखि ५०८२ सुरु हुदैछ । 


नेपाली संवत २०७८ भन्दा किरात संवत ३ हजार ३ वर्ष अघिको हो भने अंग्रेजि इश्वी संवतभन्दा ३ हजार ६० वर्ष पुरानो हो । त्यसैले किरात संवतलाई विश्वकै पुरानो मानव सभ्यता मानिएको डा. राई बताउँछन् । किराती धर्म संस्कार अनुसार जाडो याममा साकेला उधौली मानिन्छ भने गर्मी याममा उभौली मनाउने गरिएको छ । 


काराङकुरुङ नामक एक प्रकारको चराको समूह जाडो छल्न तराई (बेँसी)तिर झर्ने यामलाई उधौली (छिरीनाम) र गर्मी छल्न हिमाल (लेक)तिर चढ्ने समयलाई उभौली (धिरीनाम) भन्ने गरिएको किराती अगुवा प्रेमकुमार राईले बताए । उनका अनुसार  साकेला छिरीनाम मंसिर–पुसमा र धिरीनाम वैशाख–जेठमा पर्दछ । छिरीनाम धिरीनाम दुवै चाडमा साकेलाथानमा सामुहिक भेला भएर रातो भाले र अण्डाको बली दिएर भूमि (शिकारी) पुजा गरिन्छ भने् सामुहिक चुल्हा पुजा गर्दै गोलो घेरा लगाएर ढोलझ्याम्टा बजाउँदै सिली नाच्ने गरिन्छ । 


पुजा गरेको भालेको पोलेको मासु, अण्डा र कोदोको जाँड तथा रक्सी पितृलाई अनिवार्य चढाउनुपर्ने परम्परा छ । त्यसपछि मात्र सामुहिक भोजन गर्ने प्रचलन रहेको डा. राईले बताए । 


आईतबार परेको उधौली उदयपुरका बिभिन्न भागमा भव्यरुपमा मनाइदैछ । किरात राई यायोक्खा उदयपुरका अनुसार स्थानीय यायोक्खा प्रारम्भिक कमिटीहरुको आयोजनामा सदरमुकाम गाईघाटसँगै जिल्लाभरी भूमिपुजा र चुल्हा पुजेर छिरीनाम मनाउने क्रम सुरु भएको छ । यो सिलसिला १ महिनासम्म रहने यायोक्खा उदयपुरका कावा अध्यक्ष नविन राईले बताए । उनका अनुसार त्रियुगा नगर कमिटीको आयोजनामा गाईघाटमा भूमि पुजा गरियो । साकेलाथानमा आयोजित कार्यक्रममा सामुहिक भूमि पुजा गर्दा नेकपा (माओबादी) केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद सुरेशकुमार राई, युवा नेता किरण राई, डा. कैलाश राई, समाजसेवी प्रेमकुमार राईलगायतको उपस्थिति थियो । 


त्यसैगरी कटारीमा पनि सांसद सुरेककुमार राईकै प्रमुख आतिथ्यमा भूमि पुजा, सामुहिक चुल्हा पुजा र पितृतर्पण गरेर छिरीनाम मनाइएको यायोक्खा कटारी नगर समिति अध्यक्ष पदम राईले बताए । 


चौदण्डीगढी नगरपालिका ७ बेलटारमा प्रथम किराती राजा यलम्बरको मुर्ति अनावरण गरेर छिरीनाम मनाइएको यायोक्खा नगर कमिटी अध्यक्ष अञ्जना राईले बताएकी छिन्् । यायोक्खा उदयपुरका संस्थापक अध्यक्ष स्वर्गीय कृष्ण चामलिङको स्मृतिमा उनका ३ श्रीमतिहरु किन्दरमाया, सुनमाया र धु्रवतारा पुमा राईले व्यक्तिगत लगानीमा मुर्ति निर्माण गरिदिएको यायोक्खा नगर सचिव शेखर राईले बताए । 


मूर्ति निर्माणमा राईत्रयको ४ लाख २५ हजार खर्च भएको यायोक्खा नगर सहसचिव निर्मला राईले बताएकी छिन् । बेलटार साकेलाथान परिसरमा निर्मित पूर्णकदको यलम्बरको मूर्तिको चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले आईतबार आयोजित छिरीनाम कार्यक्रमा अनावरण गरे । 


त्रियुगा, कटारी र चौदण्डीगढीबाहेक बेलका नगरपालिका तथा उदयपुरगढी, ताप्ली, रौतामाई र लिमचुङब्ङ गाउँपालिकाका बिभिन्न वडामा छिरीनाम मनाउने क्रम चलिरहेको यायोक्खा उदयपुरका उपाध्यक्ष दिपक किरातीले बताए ।