१२ देखि १७ वर्षसम्मका बालबालिकालाई मोडर्ना खोप दिइदै

२0७८ पुष ३ शनिबार
१२ देखि १७ वर्षसम्मका बालबालिकालाई मोडर्ना खोप दिइदै

उदयपुर, पुस ३

बालबालिकालाई कोविडबाट बँचाउन भोलिदेखि खोप अभियान सुरु हुन लागेको छ । अमेरिकन कम्पनीको ‘मोडर्ना’ खोप पहिलो चरणमा प्रदेश १ का उदयपुरसहित सुदुरपश्चिम बाहेक ६ वटा प्रदेशका ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइने छ । 


पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म पहिलो मात्राको खोप दिइने खोपको दोस्रो मात्रा माघ २ देखि १२ गतेसम्म दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कार्यतालिकामा उल्लेख छ । खोप पाउने ५७ जिल्लाहरुमा प्रदेश १ का ११, प्रदेश २ का ५, बागमतिका ७, गण्डकी, लुम्बिनी र कर्णालीका ९–९ जिल्ला छन् । 


प्रदेश १ का उदयपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, धनकुटा, पाँचथर, इलाम, तेरथुम, ताप्लेजुङ र संखुवासभामा खोप अभियान चलाइने छ । मोरङ, सुनसरी र झापामा खोप अभियान राखिएको छैन । २ न. प्रदेशका सिरिाहा, सर्लाली, महोत्तरी, रौतहट र बारा जिल्लामा खोप दिइने छ भने बागमतिका रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र मकवानपुरका बालकालिकाले खोप पाउनेछन् । 


त्यसैगरी गण्डकी प्रदेशका गोर्खा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहु, नवलपरासी पूर्व, स्याङजा र पर्वतमा खोप दिइने छ । लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलबस्तु र बर्दियामा खोप अभियान चलाइने छ । 


कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, कालीकोट, रुकुम पश्चिम र सल्यानका बालबालिकालाई खोप दिने योजना सार्वजनिक भएको छ । यसअघि १८ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई सरकारले कोविडविरुद्धको खोप दिदै आएको छ । 


उदयपुरमा भने आउँदो ७ गतेदेखि मात्र खोप दिइने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । पुस ४ गतेदेखि नै दिने सरकारी कार्यतालिका सार्वजनिक भए पनि खोप आईनपुगेको तथा आवश्यक तयारी गर्न बाँकी भएकाले ७ गतेदेखि मात्र सञ्चालन गरिने स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले बताए ।