एक महिनाभित्र लिमचुङबुङ प्रहरी भवन बनिसक्ने

२0७८ मंसिर १८ शनिबार
एक महिनाभित्र लिमचुङबुङ प्रहरी भवन बनिसक्ने

उदयपुर

लिमचुङबुङबासीको सुरक्षा गर्ने जिम्मा पाएको इलाका प्रहरी कार्यालय भवन बनिसक्न लागेको छ । गाउँपालिका ३ स्थित बाराहामा अढाई वर्षअघि निर्माण सुरु भएको भवन हालसम्म ९५ प्रतिशत सकिएको छ । 


संघीय बजेटमाफर्त सहरी विकास कार्यालय विराटनगरको रेखदेखमा बन्दै गरेको अढाईतले भवनमा भुईतलामा ८ र माथिल्लो तला ४ गरी १२ कोठा रहेको निर्माण कम्पनी भुस्नाम्छा कन्स्ट्रक्सनले जनाएको छ । भवनमा प्रशासनिक, थुनुवा कक्ष र व्यारेक कार्यालय प्रमुख आवासकक्षको रुपमा उपयोग गरिने छ । 

 
भवन मूल्य अद्धिबृद्धि कर (भ्याट)बाहेक १ करोड ५१ लाख ८७ हजार २ सय २८ रुपैंयामा निर्माण भईरहेको भुस्नाम्छा निर्माण सेवाका प्रतिनिधि हेम दाहालले बताए । उनका अनसार ०७७ असार ५ गते सम्झौता भएको भवनमा अव वाईरिङ, प्लम्बिङ, रेलिङ, झ्यालढोका हाल्न र रंगरोगन गर्न मात्र बाँकी छ । कम्पाउण्ड वाल, घेराबेरा र प्रवेशद्वार (गेट) बनाउन पनि बाँकी नै छ । 


०७८ असार पहिलो साताभित्र निर्माण गरिसक्ने सम्झौता भए पनि कोविडका कारण ढिला भएकाले आउँदो पुस मसान्तसम्म अर्थात ६ महिना म्याद थपेर काम सुचारु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले बताए । लिम्बुका अनुसार निर्धारित समयभित्रै काम सक्न खोजे पनि कोविडका कारण ढिला हुन गएको हो । 


पुस मसान्तभित्र काम सक्ने गरी झ्याल, ढोका र गृल फिट गर्न सबै तयारी भईसकेको गाउँपालिकाकाका भौतिक पूर्वाधार समिति संयोजक तथा २ नं. वडाध्यक्ष भविन्द्र राईले बताए । उनका अनुसार भवन निर्माणास्थल पुग्न बाराहा–ताम्लिछा खण्डको सडकदेखि ५ सय मिटर माथिसम्म नयाँ कच्ची सडक गाउँपालिकाले खनिदिएको छ । 


इप्रका प्रमुख सहायक प्रहरी निरीक्षक (असई) बाबुराम थापाले भवन अभावमा प्रहरीलाई बस्न, कार्यालय चलाउन र सेवाप्रवाहमा कठिनाई भएको बताए । गाउँपालिका गठन भएर सञ्चालनमा आएपछि स्थापना भएको प्रहरी कार्यालयले हाल २ कोठे नीजि टहरा भाडामा लिएर कार्यालय चलाउँदै आएको थापाले बताए ।