लिमचुङबुङ प्रशासकीय भवन बन्दै

२0७८ मंसिर १५ बुधबार
लिमचुङबुङ प्रशासकीय भवन बन्दै

लिमचुङबुङ

लिमचुङबुङ गाउँपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण थालेको छ । गाउँपालिका केन्द्र बाराहास्थित १० रोपनी क्षेत्रमफल जमिनमा साढे ३ तले सुविधासम्पन्न र अत्याधुनिक भवन आउँदो दुईवर्षभित्र सक्नेगरी निर्माण थालिएको हो । 

 


भवनको जग खनेर पिल्लर उठाउने काम भईइरहेको छ । गाउँपालिकाको २ करोड र बाँकी संघीय सरकारको बजेट गरी ४ करोड ६१ लाख ८० हजार १ सय ६६ रुपैयाँमा भवन निर्माण सुरु भएको प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले बताए । 


भवन चाँडो सक्नेगरी गतवर्ष नै निर्माण थाल्ने तयारी भए पनि कोविडका कारण गत असारमा मात्र गाउँपालिकाले ठेक्का सम्झौता गरेको हो । दसैं, तिहार र छैठका कारण केही समय ढिला भएको गाउँपालिकाकाले जनाएको छ । सहलेखापाल ज्ञानेन्द्र राईका अनुसार भवन बनाउनका लागि गाउँपालिकाले ७ करोड ७८ लाख७० हजार १ सय ८३ रुपैंयाको प्राविधिक इस्टीमेट बनाएर टेण्डर आव्हान गरेको थियो । 


तर, निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा ४० प्रतिशत कम मूल्यमा ठेक्का लागेको राईले बताए । एएम–पिनस कन्स्ट्रक्सन जेवीले भवन निर्माणको जिम्मा पाएको र आउँदो ०८० असार मसान्तभित्र बनाईसक्ने जनाएको छ । जेवीका प्रतिनिधि दिपक तिम्सीनाले ४० प्रतिशत कम लागतमा ठेक्का लिएकाले पनि छिटो काम सक्नुपर्ने बाध्यता रहेको बताएका छन् । कम मूल्यमा ठेक्का लिएकाले छिटोछिटो काम नगरे घाटा सहनुपर्ने स्थिति रहेकाले छिटो काम गर्ने तिम्सीनाले बताए । 


भवन निर्माणका लागि बाराहा २ स्थानीयले निशूल्क १० रोपनी ७ आना १ दाम जग्गा दान गरेका छन् । इन्द्रबहादुर खत्रीले ९ रोपनी ९ आना र अर्का रुद्रबहादुर खत्रीले १ रोपनी ८ आना जग्गा गाउँपालिकालाई दुईवर्षअघि नै निशूल्क दान गरेका थिए । 


गाउँपालिकाका इन्जिनियर शरद चौधरीले भवनका सबै तलामा खानेपानी, महिला तथा पुरुषका लागि अलगअलग शौचालय र पाङ्गतामैत्री हुनेछ । अध्यक्षको कार्यकक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय कक्ष तथा सभाकक्ष, विषयत शाखा प्रमुख, समिति संयोजकका लागि अलग अलग कक्षहरु हुनेछन् भने सम्पूर्ण कर्मचारी कक्ष र  आवास गृहसमेत त्यहाँ हुने इन्जिनियर चौधरीले बताए । 


गाउँपालिकाले भवन निर्माणस्थलसम्म पुग्न ७० मिटर लामो नयाँ सडकसमेत खनेको छ । भवन परिसरलाई घेराबेरा र पार्किङस्थल पनि बनाइने छ ।