माओबादी सम्मेलनः उदयपुरका ५ पालिका गठन, ३ मा बाँकी

२0७८ मंसिर १५ बुधबार
माओबादी सम्मेलनः उदयपुरका ५ पालिका गठन, ३ मा बाँकी

उदयपुर

नेकपा (माओबादी केन्द्र)को ३ स्थानीयतह अधिवेशन लम्बिएको छ । गएको ११ गते सुरु भएको जिल्लाका ८ वटै स्थानीयतहमध्ये सदरमुका त्रियुगा, चौदण्डीगढी तथा उदयपुरगढीको नेतृत्व चयन हुन नसकेपछि अविधेशन लम्बिएको हो । 


अध्यक्षलगायत पदाधिकारीमा आकांक्षी धेरै देखिएपछि चुनावी प्रक्रिया अपनाउनु पर्दा अधिवेशन लम्बिन पुगेको पार्टी जिल्ला समन्वय कमिटी संयोजक बिनोद कटुवालले बताए । उनका अनुसार कटारी र बेलका नगरपालिका तथा लिमचुङबु्ङ, रौतामाई र ताप्ली गाउँपालिकामा भने नेतृत्व चयन सकिइसकेको छ ।


तर, सदरमुकाम रहेको त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा सर्वसम्मत हुन नसकेकाले चुनावी प्रक्रिया अपनाउने तयारी भईरहेको छ । चौदण्डीगढी र त्रियुगामा आउँदो शनिबार चुनाव गराउने तयारी भईरहेको संयोजक कटुवालले बताए ।


त्रियगामा ३ सय ७ जना नगर प्रतिनिधिले ६५ सदस्यीय कमिटी छानिसकेको छ भने चुनावका लागि निर्वाचन समिति पनि गठन भईसकेको नगर इन्चार्ज बिमल किरातीले बताए ।  उनका अनुसार सचिव भने कुरुङ राई सर्वसम्मत चयन भईसकेका छन् । ३ उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षको चयन पनि चुनावबाटै हुने उनले बताए । 


अध्यक्षमा नरबहादुर कार्की र गीता कार्कीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ भने अन्य पदाधिकारीका आकांक्षी खुलिसकेका छैनन् । 


त्यसैगरी २ सय ४६ प्रतिनिधि रहेको चौदण्डीगढीमा नगर कमिटी गठन हुनै बाँकी छ । प्रदेश इन्चार्ज राजन किरातीका अनुसार चौदण्डीगढीमा अध्यक्षका लागि कमलध्वज राई र रमेश विकबीच प्रतिस्पर्धा हुदैछ । 


यता उदयपुुरगढीमा पनि गाउँ कमिटी गठन हुनै बाँकी रहेको पार्टी अधिवेशन आयोजक कमिटी संयोजक देव गिरीले बताए । त्यहाँ दिपक तामाङ, विष्णु पराजुली, सन्तोष निरौला र भुवन केप्छाकी अध्यक्षका आकांक्षी छन् । उनीहरुमध्ये एकलाई अध्यक्ष बनाउन सर्वसम्मतको प्रयास भईरहेको गिरीले बताए । 


कटारी, बेलका, ताप्ली, रौतामाई र लिमचुङबुङ गाउँपालिकामा सर्वसम्मत र चुनावी प्रक्रियामार्फत कमिटी चयन भईसकेको छ । सर्वसम्मतको प्रयास असफल भएपछि लिमचुङबुङमा १२ गते चुनावमार्फत मेजरकुमार राई अध्यक्ष छानिएका छन् । उनले आयोजक अध्यक्ष होम किरातीलाई ८ मतको फरकले पराजित गर्दै अध्यक्षमा बाजी मारेका हुन् । 


चुनावबाटै सचिवमा मनोज बुढाथोकी जितेका छन् । उनले जितेन राईलाई पछि पार्दै स्थान ओगटेका हुन् भने २ उपाध्यक्षमा दिनेश राई र भिम किराती, सहसचिवमा नन्द राई र कोषाध्यक्ष सुना राई सर्वसम्मत भएका छन् । 


त्यस्तै रौतामाई गाउँपालिकामा चुनावी प्रक्रियाबाटै वीरेन्द्र आलेमगर अध्यक्ष छानिएका छन् । उनले आयोजक कमिटी अध्यक्ष इश्वर रानामगरलाई पराजित गरेर अध्यक्ष जितेका हुन् ।