नेपाली काँग्रेस खोटाङ सभापतिमा विष्णु राई, उदयपुरमा भोलि मतदान

२0७८ मंसिर १0 शुक्रबार
नेपाली काँग्रेस खोटाङ सभापतिमा विष्णु राई, उदयपुरमा भोलि मतदान

उदयपुर

नेपाली काँग्रेस खोटाङको जिल्ला नेतृत्व निर्वाचन प्रक्रियामार्फत चयन भएको छ । बिहीबार सम्पन्न चुनावको शुक्रबार सार्वजनिक मतपरिणाम अनुसार पूर्व सभापतिसमेत रहेका विष्णुकुमार राईले ६ सय ६९ मत पाएर सभापति जितेका हुन् । 


सभापतिको अर्का प्रतिस्पर्धी सर्वधन राईले ६ सय १० मत पाएका छन् । त्यसैगरी उपसभापतिमा इवन राई र तीर्थराज भट्टराईले स्थान सुरक्षित गरेका छन् । हलेसी तुवाचुङ नगरप्रमुखसमेत रहेका इवन राईले ७ सय ५३ मत पाएका छन् भने भट्टराईलाई ७ सय ४२ मत परेको छ । 


उपसभापतिका ४ जना प्रतिस्पर्धीमध्ये मनोज तिमल्सिनाले ५ सय ४३ मत पाए भने अर्का स्पर्धी राजन सैंजुलाई ३ सय ८४ मत परेको छ । त्यसैगरी सचिवमा क्रमशः समीर राई र ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन् । राईले ७ सय १३ मत ल्याए भने जोशीलाई ६ सय २० मत पर्यो । सचिवका उम्मेदवारहरु रोजन राई र राम साम्पाङ क्रमशः ५ सय ५ सय ५३ र ५ सय ११ मत पाएर पराजित भए ।  


प्रतिस्पर्धी ४ सहसचिवमध्ये राजकुमार राई र ध्यानबहादुर राई विजयी भएका छन् । उनीहरुले क्रमशः ५ सय ७७ र ५ सय ६४ मत पाएको पार्टीले जनाएको छ । सहसचिवका दुई उम्मेदवारहरु सार्जन राई र शालिक बन्जरालाई क्रमशः ६ सय २४ र ५ सय ९३ मत प्राप्त भएको पार्टीले जनाएको छ । 


खोटाङमा प्रदेश (क) मा राजेन्द्र राई र प्रदेश (ख) दिनेश घिमिरे प्यानलसहित निर्वाचित भएको जनाइएको छ । 

यता उदयपुरमा भने शनिबार मतदान हुने तयारी भईरहेको छ । उदयपुरमा सभापतिका लागि ३ जनाले दावी गरे पनि २ जनाबीच चुनावी प्रतिस्पर्धा हुने संभावना बलियो रहेको पार्टीले जनाएको छ । 


सभापतिका लागि महिला नेतृ प्रमिला राई, वर्तमान सभापति विदुर बस्नेत र पूर्व सभापति हिमाल कार्कीले दावी गरिहेका छन् । २००७ सालका क्रान्ति योद्धा बलबहादुृर राईपुत्री प्रमिला सर्वसम्मत सभापति हुन चाहेकाले चुनावी स्पर्धामा जानु परे पछि हट्ने संभावना रहेको बताइएको छ । 


एकपक्ष कार्यकर्ताहरु भने बस्नेतलाई पछि हटाएर राईलाई सभापतिको उम्मेदवार बनाउने योजनामा रहेका छन् । बस्नेत रामचन्द्र–सशांक समूहबाट र कार्की संस्थापन (देउवा)पक्षबाट सभापतिमा प्रतिस्पर्धा गर्दैछन् । दुवै पक्षले अहिलेसम्म पार्टीको बुथदेखि वडा, स्थानीयतह, प्रदेश हुँदै संघीय निर्वाचन क्षेत्रसम्म स्पष्ट रुपमा प्यानल खडा गरेर प्रतिस्पर्धा गर्दै आएका छन् । 


अहिलेसम्मको नतिजा अनुसार अधिकतर सीटमा कार्की खेमाले जित हासिल गरेको छ । पछिल्लो परिणाम अनुसार संघीय निर्वाचन क्षेत्रको स्पर्धामा १ बाट खगेन्द्र राईको प्यानल र २ मा रामकुरमा राईको मिश्रृत प्यानलले कार्की खेमाबाट जित हासिल गरेको छ ।