लिमचुङबुङ बस १२ गतेदेखि चल्ने

२0७८ मंसिर १0 शुक्रबार
लिमचुङबुङ बस १२ गतेदेखि चल्ने

उदयपुर

बिकट पहाडी गाउँपालिका लिमचुङबुङले यात्रुबाहक बस सञ्चालन गर्ने भएको छ । ‘लिमचुङबुङ सार्वजनिक यातायात सेवा’ नाम दिइएको बस आउँदो १२ गते आईतबारदेखि सञ्चालन गर्ने गरी सबै व्यवस्थापन मिलाइएको छ । बस वडा नं. ३ स्थित गाउँपालिका केन्द्र बाराहारदेखि सदरमुकाम गाईघाटसम्म दिन बिराएर चल्ने बताइएको छ ।

 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुका अनुसार बसमा यात्रा गर्ने ७० बर्ष भन्दामाथिका जेष्ठ नागरिक र क र ख श्रेणीका अपाङ्गता यात्रुलाई भाडामा ५० प्रतिशत छुट दिइने छ । त्यसैगरी गाउँपालिकाबासी कृषि उपज ढुवानी गर्दा २५ प्रतिशत तथा विद्यार्थीलाई १० प्रतिशत छुट दिने निर्णय भएको अधिकृत लिम्बुले बताए ।


त्यसैगरी नियमित यात्रा गर्नेका लागि छुट दिन पासको व्यवस्था मिलाउने विषयमा समितिले छलफल गरिरहेको छ । छुट सुविधा पाउनका लागि भने लक्षित समूह (जेष्ठ नागरिक, अपाङ्गता र विद्यार्थी)ले अनिवार्य परिचयपत्र देखाउनुपर्ने प्रावधान गाउँपालिकाले राखेको छ । 


गाउँपालिकाले बस सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उदेश्यले अध्यक्ष मेजरकुमार राईको संयोजकत्वमा ५ सदस्यीय सञ्चालक समितिसमेत गठन गरेको छ । जसमा उपाध्यक्ष रमिला राई, लेखा अधिकृत ताराकिरण राई, १ नं. वडाध्यक्ष भीम राई सदस्य रहेका छन् भने जिन्सी शाखा प्रमूख गौतम दाहाललाई सदस्यसचिवको जिम्मेबारी दिइएको छ । 


गाउँपालिकाले दुईवर्षअघि नै सार्वजनिक यातायात सञ्चालन गर्ने गरी गाउँसभाबाटै बजेट छुट्याएको थियो । सुरुमा २ वटा बस खरिद गर्नेगरी बिनियोजित बजेट कार्यान्वयन गर्न बस खरिद प्रक्रिया अघि बढाएसँगै विश्वभर कोविड महामारी फैलिएपछि काम रोकिएको थियो । 


२ बस खरिद गर्ने योजना भए पनि हाललाई एउटा बस सञ्चालनको तयारीमा पुगेको छ । उक्त बस गत असोज पहिलो सातादेखि नै सञ्चालन गर्नेगरी गाउँपालिका लगिए पनि सडकको अवस्था राम्रो नभएका कारण २ महिना ढिला भएको अधिकृत लिम्बुले बताएका छन् ।