नेपाली काँग्रेस १ नं. क्षेत्र सभापतिमा राई, २ को गणना अन्तिम चरणमा

२0७८ मंसिर ८ बुधबार
नेपाली काँग्रेस १ नं. क्षेत्र सभापतिमा राई, २ को गणना अन्तिम चरणमा

उदयपुर

आसन्न १४ औं महाधिवेशनका लागि बुथदेखि वडा, स्थानीयतह, गाउँ–नगरपालिका, प्रदेशसभा हुँदै संघीय निर्वाचन क्षेत्रीयतहसम्मको प्रतिनिधि चयनमा चर्को आन्तरिक प्रतिस्पर्धा झेलिरहेको नेपाली काँग्रेसमा उदयपुर १ को संघीय निर्वाचनक्षेत्रमा खगेन्द्र राई (काजी) सभापति छानिएका छन् । 


मंगलबार चुनाव भएर बुधबार साँझ प्रकाशित नतिजा अनुसार पूर्व क्षेत्रीय सभापति बसन्तबस्नेतसँग कडा प्रतिस्पर्धाबाट राई सभापति विजयी भएका हुन् । यसअघिका क्षेत्रीय सभापति बस्नेतभन्दा राईले १० मत बढी ल्याएर सभापतिमा बाजी मारेको पार्टीका प्रवक्ता  मदनराज कटुवालले बताए । 


चौदण्डीगढी नगरप्रमु्खसमेत रहेका राईले ३ सय ४४ मत लिएर सभापति विजयी हुँदा बस्नेतलाई ३ सय ३४ मत परेको छ । केन्द्रमा संस्थापन पक्षधर अर्थात पूर्व जिल्ला पार्टी सभापति हिमाल कार्की खेमाका राईको प्यानलले सभापतिदेखि सदस्यसम्मै एकछत्र वर्चश्व कायम राख्न सफल भएको छ । 


उता २ नं. क्षेत्रमा मतगणना अन्तिम चरणमा पुगेको र नतिजा सार्वजनिक गर्ने  तयारीमा भईरहेको छ । त्यहाँ रामकुमार राई र रामकुमार खत्रीबीच चर्को प्रतिस्पर्धा र्भइरहेको छ । ६ सय ६७ मत खसेकोमध्ये ६ सय मतगणना भईसक्दा राई खत्रीभन्त्दा १० मतले अगाडि रहेको पार्टीले जनाएको छ । 


ढिलोमा आधाघण्टाभित्र नतिजा सार्वजनिक हुने पार्टी पूर्वसभापति तथा प्रदेश १ का भौतिकमन्त्री हिमाल कार्कीले बताएका छन् ।