मेयर पुत्रशोक, समबेदना दिन माधव नेपाल घरमै आए

२0७८ मंसिर ५ आईतवार
मेयर पुत्रशोक, समबेदना दिन माधव नेपाल घरमै आए

उदयपुर

अघिल्लो दिन पुत्रशोकमा परेका त्रियुगा नगरप्रमुख बलदेव चौधरीलाई समबेदना दिन सत्तारुद्ध दल नेकपा (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपाल उदयपुर आएका छन् । हेलिकोप्टरमार्फत विहान ११ः३० बजे गाईघाट आएका अध्यक्ष नेपाल सरासर मेयर चौधरीको त्रियुगा नगरपालिका ११ पुरानोगाईघाटस्थित घर पुगेर शोकसन्तप्त परिवारजनमा समबेदना व्यक्त गरे । 


पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल चौधरीको शव यात्रामा सहभागी हुँदै त्रियुगाघाट पुगेर स्वर्गीय चौधरीको शवमा माल्यार्पण गर्नुका साथै पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । श्रद्धाञ्जलीसभामा समवेदना मन्तव्य राखेका उनले राजनीतिक विषयमा भने केही बोलेनन् । 


पार्टी प्रवक्ता जगन्नाथ खतिवडासहित आएका अध्यक्ष नेपाल नेकपा (एस) प्रदेश १ का अध्यक्षसमेत रहेका मेयर चौधरीलाई समबेदना दिन मात्र गाईघाट आएकाले पार्टी कार्यकर्तासँग भेटघाटलगायत कुनै औपचारिक कार्यक्रम नभएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रप्रसाद यादवका अनुसार अध्यक्ष नेपाल दिउसो २ः०० बजे सोही हेलिमार्फत राजधानी फर्केका छन् । 


मेयर चौधरीलाई समवेदना दिन नेकपा (माओबादी केन्द्र) प्रदेश १ का अध्यक्ष तथा सांसद सुरेशकुमार राई (हिमाल), पूर्व सहायक मन्त्री लक्ष्मीनारायण चौधरी, प्रद्ेश १ का भौतिक तथा पूर्वाधार मन्त्री हिमाल कार्की, प्रदेश सांसद अम्बिका थापालगायत पनि चौधरी निवास पुग्नुका साथै शवयात्रामा सहभागी थिए । 


पुत्र वियोगमा परेका मेयर चौधरीलाई समवेदना दिन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई पनि उदयपुर आउने कार्यक्रम रहेको पार्टीले जनाएको छ । 

 

मेयर चौधरीको एक मात्र २५ वर्षीय छोरा मनोजको शनिबार वनभोज खाने क्रममा दहमा डुबेर निधन भएको हो । झण्डै डेढदर्जन साथीहरुसँगै चौदण्डीगढी नगरपालिका ९ देवधारस्थित खोला किरनामा वनभोज खान गएका बेला पौडी खेल्ने क्रममा डुबेर उनको निधन भएको प्रहरीले जनाएको छ ।