काँग्रेस प्रदेश २ (क) चुनावको मतपत्र च्यातियो, १ (क) मा बस्नेतको प्यानलै विजयी 

२0७८ मंसिर ४ शनिबार
काँग्रेस प्रदेश २ (क) चुनावको मतपत्र च्यातियो, १ (क) मा बस्नेतको प्यानलै विजयी 


उदयपुर

शुक्रबार सम्पन्न नेपाली कांग्रेस उदयपुरका ४ प्रदेशसभा अधिवेशन चुनावमा कतै शान्तिपूर्ण भएको छ भने कतै मतपत्र च्या्रत्नेससम्म हर्कत भएको छ । ४ प्रदेशसभामध्ये प्रदेश  २ (क) को उदयपुगढी ६ स्थित नेपालटार मतदान केन्द्रमा बिबाद भएर मतपत्र च्याताच्यात भएपछि गणना स्थगित भएको पार्टीले जनाएको छ । 


मतदान दिउँसै शान्तपूर्ण सम्पन्न भएको गणनाको क्रममा बिबाद उत्पन्न भएसँगै मतपत्र च्यात्ने काम भएपछि झडप हुने संभावना टार्न गणना स्थगित गरिएको पार्टी प्रवक्ता मदनराज कटुवालले बताए । प्रदेश २ (क) मा पार्टी सभापति बिदुर बस्नेत खेमाका मोहनसेर राई र पूर्व सभापति तथा प्रदेश मन्त्री हिमाल कार्की खेमाबाट खेसबहादुर मगरको प्यानलले स्पर्धा गरिरहेको छ । 


लिमचुङबुङ, उदयपुरगढी र रौतामाई गरी ३ गाउँपालिका समेटिएको प्रदेशक्षेत्रमा राई र मगरबीच कडा प्रतिस्पर्धा भएकाले मतपत्र च्याताच्यातको अवस्था आएको एक कार्यकर्ताले बताएका छन् । स्थगित गणना सुचारु गर्न पार्टीले आन्तरिक छलफल चलाईरहेको कटुवालले बताए ।


अन्य ३ प्रदेशसभा अधिवेशनको गणना भने शान्तिपूर्ण सकिएर विहानै मत परिणाम सार्वजनिक भएको छ । सदरमुकाम गाईघाट समेटिएको प्रदेश १ (क) मा कार्की खेमाका सरोज बस्नेतको प्यानलै विजयी भएको छ । बस्नेत खेमाबाट त्रियुगा नगर उपप्रमुख रहेकी देवीकुमारी चौधरीभन्दा ११ मत बढी ल्याएर बस्नेत सभापति जितेका हुन् । ३ सय ७९ मत खसेकोमध्ये बस्नेतले २ सय ९३ मत पाउँदा चौधरीले २ सय ८२ मत प्राप्त गरेकी छिन्  । 


त्यसैगरी प्रदेश १ (ख) मा भने बस्नेत खेमाका अर्जुन दाहाल सभापति जितेका छन् । त्यहाँ सचिव पदमा भने कार्की खेमाका सभापति उम्मेदवार जय सुबेदीको प्यानलका पदम खड्का जितेका छन् । उता प्रदेशसभा क्षेत्र २ (ख) मा कार्की खेमाकै कृष्ण थापा सभापति जितेका छन् । बस्नेत खेमाका राम पोखरेल पराजित भएको पार्टीले जनाएको छ ।