उदयपुरमा नेपाल बन्दको आंशिक प्रभावित (फोटो फिचर)

२0७८ कार्तिक ३0 मंगलवार
उदयपुरमा नेपाल बन्दको आंशिक प्रभावित (फोटो फिचर)

उदयपुर

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध आव्हान भएको ‘नेपाल बन्द’ले उदयपुरको जनजीवन आंशिक प्रभावित पारेको छ । नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आव्हान गरेको मंगलबारको बन्दका कारण सदरमुकाम गाईघाटको बजार, पसल र यातायात प्रभावित भएको हो । 

 


नेकपा र माओबादी मजदुर पार्टी (मामपा)को संयुक्त आयोजनामा भएको बन्द विहान ९ः०० बजेसम्म ठप्प भए पनि अहिले साना सवारी साधनलाई भने खुल्ला गरिएको छ । बन्दकर्ताले आंशिक खुकुलो पारेपछि अहिले स्कुटर र मोटरसाईकल निर्वाध चलेका छन् । 

 


विहानदेखि ठूला साना सबैखाले सवारी साधन चल्न अवरोध गरेका बन्दकर्तालाई चुनौति दिदै सुरक्षाकर्मीले यातायात चलाउन स्कटिङ गर्न थालेपछि बस र ट्रक, ट्याक्टर, जीप र अटोलगायत साधन रोकेर मोटरसाईकल र स्कुटीको आवागमन खुल्ला गरिएको हो । 

 


बन्द सफल पार्न नेकपा र मामपाका कार्यकर्ताहरु बजारका बिभिन्न चोकमा झण्डासहित गोलबन्द भएर खटेका छन् । गाईघाटसँगै कटारी, बेलटार र रामपुरलागयत बजारमा पनि बन्दको आंशिक प्रभाव परेको स्थानीयले बताएका छन् । 

 


बन्दमा अहिलेसम्म कतै झडप, मुठभेड र झैझगडा भएको खवर नआएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराका अनुसार विहानदेखि अहिलेसम्म कतै नराम्रो घट्नाको खवर आएको छैन । उनले सदरमुकाममा पसल, व्यापार बन्द भए पनि चल्न चाहने यातायात सुचारु गर्न सुरक्षाकर्मीले स्कटिङको व्यवस्था मिलाएको बताए ।