पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध मसाल जुलुस, भोलि नेपाल बन्द

२0७८ कार्तिक २९ सोमबार
पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध मसाल जुलुस, भोलि नेपाल बन्द

उदयपुर


पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गर्दै उदयपुरमा नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र माओबादी मजदुर पार्टी (मामपा)ले मसाल जुलुस निकालेका छन् । मूल्यबृद्धिबिरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संघसंगठनले नै आन्दोलन गरिरहेका बेला बिपक्षी दलहरुले पनि बिरोध गरेका हुन् । 


मूल्यबृद्धिबिरुद्ध कात्तिक ३० गते मंगलबार नेपाल बन्दको घोषणासमेत गरेको नेकपाले मामपासँगको संयुक्त आयोजनामा सोमबार साँझ मसाल जुलस निकालेको हो । तर, गाईघाटमा निकालिएको मसाल जुलुसलाई बजार परिक्रमा गर्न नपाउने गरी प्रहरीले हस्तक्षेप गरेको छ । 


डेढदुईदर्जन हाराहारी कार्यकर्ता सहभागी जुलुसलाई प्रहरीले सुरुमा मसाल नबाल्न आग्रह गरे पनि कार्यकर्ताले एउटा मसाल सल्काएर हिडाएका थिए । तर, जुलुस अघि बढेको केहीबेरमै प्रहरीले खोसेर निभाएको थियो । बजारभरी परिचालन गरिएका प्रहरी र सशस्त्रको दाँजोमा प्रदर्शनकारीको संख्या सानो भएकाले पनि हस्तक्षेप गर्न सहज भएको थियो । 


आन्दोलनकारीले भने सांकेतिक बिरोध भएकाले एउटै मसाल भए पनि काफी भएको जनाएका छन् । ‘धेरै ठाउँमा एकै दिन कार्यक्रम गर्नु परेकाले दुईटा पार्टी भए पनि कार्यकर्ता बाँडिएर सानो संख्या भएको हो’ मामपाका महासचिव हिमालसिंह राईले भने ‘एउटै मसाल भए पनि बालेर बिरोध गर्न सफल भयौँ । हाम्रो यो सांकेतिक बिरोध भएकाले यत्ति पनि काफी छ ।’


नेकपाले मूल्यबृद्धिविरुद्ध यसअघि गत शुक्रबार साँझ पनि गाईघाटमा मसाल जुलुस प्रदर्शन गरेको थियो । जनताको ढाड सेक्नेगरी पटक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेकाले आन्दोलन गर्न बाध्य भएको भन्दै नेकपा जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले मूल्यबृद्धि फिर्ता नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

यसैबीच भोलि घोषित नेपाल बन्दलाई असफल बनाउन प्रहरी प्रशासनले तयारी व्यापक बनाएको जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराले बन्दको असर पर्न नदिने गरी सुरक्षाकर्मी तैनाथ गरिएको बताए । नेपाल बन्दको आव्हान गरेको भए पनि कोही केही नडराई आआप्mनो पेशा व्यवसाय ढुक्कसँग गर्न उनले आग्रह गरेका छन् । 


‘हामी बन्दको प्रभाव पर्न दिदैनौँ, सबैले ढुक्क भएर पेशा व्यवसाय गर्न हुन आग्रह गर्दछु’ एसपी बोहराले माझखर्कसँग भने ‘बजार, यातायात, शिक्षण संस्था र व्यापार व्यवसाय केहीमा बन्दको असर पर्न दिइनेछैन ।’