अव सवारी लाईसेन्स गाईघाटबाटै 

२0७८ कार्तिक २९ सोमबार
अव सवारी लाईसेन्स गाईघाटबाटै 

उदयपुर

यातायात सेवा कार्यालय गाईघाटले अव उदयपुरबाटै सवारी अनुमतिपत्र (लाईसेन्स) बितरण गर्ने भएको छ । ६ वर्ष ३ महिनाअघिदेखि सञ्चालनमा आएको सेवा कार्यालयले यसअघि सवारीसम्बन्धी सबै काम गर्दै आए पनि लाईसेन्स बितरणको अधिकार पाएको थिएन । 


कार्यालय प्रमुख सुभाष कार्कीले कात्तिक २९ गते सोमबारदेखि लाईसेन्स बितरण गर्ने अधिकार पाएको जानकारी यातायात व्यवस्था विभाग, प्रदेश यातायात कार्यालयबाट आएको बताए । उनका अनुसार अव स्कुटीदेखि जीप, कार, भेनजस्ता हलुका सवारी साधनदेखि बस, ट्रकजस्ता भारी साधनको लाईसेन्ससमेत बितरण गर्ने अधिकार कार्यालयले पाएको छ । 

 


अधिकार पाएसँगै सेवाग्राहीलाई लाईसेन्स बितरणको सबै तयारी पुरा गरेको कार्यालयले जनाएको छ । त्यसका लागि फाराम खुल्ला भईसकेको पनि कार्कीले जानकारी दिए । अव भटाभट लाईसेन्स बितरणको कार्य सुरु हुने उनले बताए । लाईसेन्स बितरणका लागि आवश्यक पूर्वाधारसमेत कार्यालयले निर्माण गरिसकेको कार्कीले बताए । 


कार्यालयदेखि ३ किलोमिटर पश्चिम त्रियुगा नगरपालिका ९ गहिरुनस्थित साविक इँटा भट्टानेर १ बिगाह क्षेत्रफल जमिनमा ‘सवारी ट्रायल सेन्टर’ निर्माण भईसकेको छ भने गाईघाट नजिकै बाँसबारीमा ट्रायल प्रशिक्षण केन्द्र पनि तयारी अवस्थामा पुगेको छ । सुरुमा हलुका सवारीको लाईसेन्स बितरण गर्ने र विस्तारै सबैखाले बितरण गर्ने नीति लिइने कार्यालयले जनाएको छ । 


ट्रायल प्रशिक्षण केन्द्र र ट्रायल सेन्टर दुवै नीजि लगानीमा निर्माण भएको कार्कीले बताएका छन् । लामो समयसम्म पटकपटकको प्रयासपछि गाईघाटबाटै लाईसेन्स बितरण गर्न पाउने अधिकार कार्यालयलाई प्राप्त भएको प्रमुख कार्कीले बताए । दुईवर्षअघि नै अधिकार दिने तयारी भए पनि कोविड महामारी आईपरेपछि प्रक्रिया रोकिएको थियो ।


उदयपुर यातायात सेवा कार्यालयलाई लाईसेन्स बितरणको अधिकार नहुँदा यसअघि जिल्लाका हजारौँ सेवाग्राही २ नं. प्रदेश सिराहाको लाहान, वीरगञ्ज र सुनसरीको इटहरी पुग्नुपर्ने बाध्यता गियो । दूरीका हिसावले गाईघाटदेखि लाहान २७ किलोमिटर भएकाले प्रदे्श १ को इटहरीभन्दा नजिक भए पनि सेवा प्रवाह गर्ने कार्यालयले अधिकार नपाउँदा सुलभ सेवा पाउन नसकेकोमा सर्वत्र गुनासो आउने गरेको छ । यसले संघीयता र गणतन्त्रको अर्थ झल्कन नसकेको भन्दै सेवाग्राहीले गाईघाटबाटै सेवा दिनुपर्ने माग गर्दै आएका थिए ।