यी हुन् एमाले महाधिवेशन प्रतिनिधि 

२0७८ कार्तिक २८ आईतवार
यी हुन् एमाले महाधिवेशन प्रतिनिधि 

उदयपुर

नेकपा (एमाले)को आसन्न महाधिवेशनका लागि उदयपुरबाट ४ महिलासहित १६ प्रतिनिधि छनौट भएका छन् । कात्तिक २७ गते एकैदिन देशभर प्रतिनिधि छनौट गर्ने कार्यतालिका अनुसार कतै सर्वसम्मत र कतै चुनावी प्रक्रियामार्फत प्रतिनिधि चयन भएका हुन् ।


निर्वाचन क्षेत्र १ मा चुनावी प्रतिस्पर्धा भएको छ भने २ मा सर्वसम्मत भएको पार्टीले जनाएको छ । १ बाट खुल्लातर्फ पार्टी अध्यक्ष इश्वरमणि राउत, दुर्गाकुमार थापा, विमल कार्की, कालु लामा, कुशल बस्नेत र प्रमेश घिमिरे प्रतिनिधि छानिएका छन् । महिलातर्फ सृजना दनुवार र महेश्वरी राई निर्वाचित भएका छन् । खुल्लातर्फ ६ जनाको कोटामा २७ जनाले उम्मेदवारी दिएका थिए भने २ महिला कोटाका लागि १० जनाले चुनावी प्रतिस्पर्धा गरेका थिए ।


प्रतिनिधि छनौट चुनावमा १ हजार ८ सय ६९ सदस्यले मतदात गरेको पार्टी जिल्ला सदस्य कुशलबाबु बस्नेतले बताए । उनका अनुसार जसमध्ये सबभन्दा बढी दुर्गाकुमार थापाले १ हजार ८६ मत पाए भने दोस्रो ठूलो मत प्रमेश घिमिरेले ९ सय २२ पाएका छन् । इश्वरमणि राउतलाई ७ सय ८६, बिमल कार्कीले ७ सय ८५, कुशल बस्नेतले ६ सय ५१ र कालु लामाले ६ सय २४ मत पाएका छन् ।


उता महिलातर्फ सिर्जना दनुवारले ८ सय मत पाउँदा महेश्वरी राईले ७ सय २१ मत लिन सफल भएकी छिन् । महिलातर्फ १२ जनाको उम्मेदवारी परेकोमा अम्बिका थापा र अर्का एकले उम्मेदवारी फिर्ता लिएपछि १० जनाबीच प्रतिस्पर्धा भएको थियो । 


पार्टीका पुराना र अगुवा ३ नेताहरु भने यो महाधिवेशनमा भाग लिन नपाउने भएका छन् ।१५ वर्ष जिल्ला पार्टी नेतृत्व गरेका तत्कालीन सचिव मणिराज पौडेल, नेकपा माले कोअडिनेसन कमिटीदेखिका पुराना नेता पूर्व जिल्ला विकास समिति उपसभापति पदम राई र युवा नेता भागवत राउत चुनावी प्रतिस्पर्धाबाट प्रतिनिधि चयन हुन सकेनन् । पौडेल र राई अध्यक्ष केपी ओलीले पुस ५ गते पहिलो संसद बिघटन गरेपछि थपिएका केन्द्रीय सदस्यमध्येका हुन् ।    

पौडेललाई १ सय ५९ मत प्राप्त भएको छ भने राईलाई ३ सय ५२ र राउतलाई ५ सय ९६ मत परे्को छ । त्यस्तै पुराना र अगुवा नेताहरु चन्द्रनारायण चौधरी, धनपति आचार्य, नारदराज थापा, राजेन्द्र कटुवाल, शम्भु पौडेललगायत पनि प्रतिनिधि हुन पाएनन् । अगुवा महिला नेतृहरु कान्ता राई, गंगा राई, गीता रेग्मी, पूर्णकला बन्जरा, भवानी थापा, मणिका दुलाल पनि प्रतिनिधि हुनबाट वञ्चित भएका छन् । 


सर्वसम्मत प्रतिनिधि छनौटको प्रयास असफल भएपछि चुनावी प्रक्रियामा जाँदा पुराना र प्रतिबद्ध नेताहरु महाधिवेशन प्रतिनिधि हुन नपाएको पार्टीले जनाएको छ । 


निर्वाचन क्षेत्र नं. २ मा भने एकदिनअघि नै सर्वसम्मत प्रतिनिधि चयन सकिएको छ । २७ गते गर्ने तालिका भए पनि २६ गते नै खुल्ला र महिला कोटामा सर्वसम्मत प्रतिनिधि चयन भएको पार्टीले जनाएको छ । खुल्लातर्फ शैलेस लामा, अम्मर रायमाझी, ज्ञानेन्द्र श्रेष्ठ र उद्धवसिंह थापा छानिएका छन् भने महिलातर्फ भिमकुमारी राउत र कला घले छानिए । 


श्रेष्ठ कटारी नगरप्रमुख हुन् भने राउत उपप्रमुख हुन् । त्यस्तै थापा ताप्ली गाउँपालिका अध्यक्ष र घले प्रदेश सांसद तथा ओलीको संसद बिघटनको समर्थन गरेपछि पुनर्गठन भएको प्रदेश १ सरकारमा भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री बन्ने मौका पाएकी थिईन् । 


त्यसैगरी दलिततर्फ खड्ग परियार र गिरीलाल परियार पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि छानिएका छन् । 


प्रतिनिधि चयन चुनावमा एमालेका ८ हजार ५ सय संगठित सदस्य रहेको उदयपुरमा १ नं. त्रमा ५ हजार ५ र २ नं. मा ३ हजार ४ सय ९५ मतदाता रहेका थिए । तर, सदस्यता नविकरण गरेकालाई मात्र मतदानमा भाग लिन दिइएको जिल्ला सदस्य बस्नेतले बताएका छन् ।