जनगणना औपचारिक रुपमा सुरु, उदयपुरमा ४ सय ५४ जना गणक परिचालन

२0७८ कार्तिक २५ बिहीबार
जनगणना औपचारिक रुपमा सुरु, उदयपुरमा ४ सय ५४ जना गणक परिचालन

उदयपुर, कात्तिक २५

‘१२ औं राष्ट्रिय जनगणना २०७८’ विहीबारदेखि देशभर एकैचोटी सुरु भएको छ । यसै क्रममा उदयपुरमा पनि औपचारिक रुपमा जनगणना सुरु भएको छ । 


जिल्ला जनगणना कार्यालय उदयपुरका अनुसार जिल्ला समन्वय प्रमुख खड्गबहादुर परियारको घरमा बिबरण संकलन गरेर उदयपुरको जनगणना कार्यको औपचारिक सुरुवात गरिएको छ । त्रियुगा नगरपालिका ११ गाईघाटस्थित परियारको आवासमा पुगेको गणकको टोलीले बिबरण संकलन गरेर जनगणना सुरु गरेको जिल्ला जनगणना अधिकारी शिवनारायण महतोले बताए ।


महतोका अनुसार उदयपुरका त्रियुगा, चौदण्डीगढी, कटारी र बेलका नगरपालिका तथा ताप्ली, लिमचुङबुङ, रौतामाई र उदयपुरगढी गरी ८ वटै स्थानीयतहमा जनगणना कार्य सुरु भएको छ । त्यसका लागि जिल्लाभरी १ सय ७ जना सुपरीवेक्षक तथा ४ सय ५४ जना गणक परिचालन गरिएको तथ्यांक अधिकृतसमेत रहेका महतोले बताए । 


आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, जनसांख्यिक, लैंगिक तथा बिभिन्न पेशा व्यवसाय सबैको बिबरण लिइने जनगणनामा ८० वटा प्रश्नावली तया गरिएको छ । सोही प्रश्नावली लिएर घरघरमा आउने गणकले घरमुलीलाई प्रश्न सोधेर बिबरण संकलन गर्नेछन् । 


‘कोही नछुटौँ, कोही नदोहारियौँ’ भन्ने नाराका साथ सुरु जनगणनालाई सफल, प्रभावकारी र परिणाममुखी बनाउन सबैले यथार्थ बिबरण दिन प्रमुख महतोले आग्रह गरे । एक महिनाअघि घरघर खटेर सुपरीवेक्षकले अंकित गरेको घर नं. र कोड दसैं तिहारमा घर लिप्दा, पोत्दा मेटिएकाले गणना कार्यमा चुनौती आउन सक्ने भन्दै त्यस्ता घर पनि पत्ता लगाएर बिबरण संकलन गर्न कार्यालयले गणकहरुलाई आग्रह गरेको छ । 


एउटा घरको बिबरण संकलन गर्न कम्तीमा १ घण लाग्ने तथ्यांक कार्यालयले जनाएको छ । तर, जति समय लागे पनि यथार्थ बिबरण लिन अधिकारी महतोले गणकलाई निर्देशन दिएका छन् । कात्तिक २५ देखि सुरु गणना आउँदा मंसिर ९ गतेसम्म १५ दिनभित्र सम्पन्न गरिसक्नुपर्ने छ । 


देशभर जनगणनाका लागि ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक परिचालन गरिएको तथ्यांक विभागले जनाएको छ ।