भाइ तिहारका दिन दुर्घटना हुँदा ७ को मृत्यु, ७ घाईते 

२0७८ कार्तिक २१ आईतवार
भाइ तिहारका दिन दुर्घटना हुँदा ७ को मृत्यु, ७ घाईते 

उदयपुर 

धेरैका लागि दसैं, तिहारजस्ता चाडपर्वहरु खुसीको वहार लिएर आउँछन् । तर, कतिपयका लागि भने अत्यन्त दुःखद, दर्दनाक र असामयिक भएर आउने गरेको छ । 
तिहार यस्तै खुसी र उमङ्गको चाड हो । तर, यो वर्षको तिहार कतिपयका लागि भने दुःखद हुन पुग्यो । भाइ तिहारकै दिन उदयपुरका एक बृद्धको दुर्घटनामा परेर ज्यान गएपछि भण्डारी परिवारको तिहार दुःखद हुन पुग्यो ।


त्रियुगा नगरपालिका ११ गाईघाटका ८५ वर्षीय कूलप्रसाद भण्डारीको साँझ ६ः०० बजे गाईघाटस्थित मेनचोकमा अटो र मोटरसाईकलको ठक्करमा ज्यान गएको हो । पिलचोकदेखि पूर्वतर्फ जादै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाईकल र स १ ह १६२० नम्बरको अटो एकापसमा ठक्कर खाएर दुर्घटनामा पर्दा भण्डारीको मृत्यु भएको हो ।


मोटरसाईकल पछाडि सवार भण्डारी दुर्घटनामा परी गम्भीर घाईते भएपछि जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ संभव नभएपछि बिराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा उपचारकै क्रममा राति साढे ९ः०० बजे निधन भएको जिल्ला प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराले बताए । दुर्घटनामा परी मोटरसाईकल चालक सप्तरी कन्चनपुर नगरपालिका १२ का ५२ वर्षीय कमलप्रसाद पोखरेल र अटो चालक चौदण्डीगढी नगरपालिका ७ का ४२ वर्षीय नरबहादुर कार्की सामान्य घाईते भएका छन् । 


उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने अटो र मोटरसाईकललाई नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको छ । 
यो वर्ष भाइ तिहारकै दिन प्रदेश १ का बिभिन्न ठाउँमा सवारी दुर्घटनामा परी ७ जनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार साँझ ६ः०० बजे झापाको बिर्तामोड नगरपालिका ६ गिरीबन्दु टि स्टेटअगाडि भएको दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । 


पुर्व–पश्चिम लोकमार्गमा नम्बर नखुलेको रातो रंगको २२० सिसिको पल्सर मोटरसाईकलले बिपरित दिशातर्फ जादै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा घाईते स्कुटीको पछाडि सवार चालक मेची नगरपालिका १० का ४२ वर्षीय डिल्ली कार्कीका १६ वर्षीय छोरा मनिष कार्कीको निधन भएको हो । दुर्घटनामा परी स्कुटीमा सवार तीनैजना घाईते भई बि एण्ड सी अस्पतालमा उपचारार्थ भर्ना गरिएकोमा कार्कीको निधन भएको हो भने उनका बाबु चालक कार्की र हल्दिबारी गाउँपालिका २ का २१ वर्षीय पिजेश लामाको उपचार भईरहेको छ । 


यसैगरी भाइ तिहारकै राति साढे ११ः०० बजे झापा मेचीनगर नगरपालिका १३ तेलिबारीस्थित पुर्व–पश्चिम लोकमार्गमा पूर्वतर्फ जादै गरेको प्रदेश १–०४–०१४ प ३३४५ नम्बरको मोटरसाईकल र सोही दिशातर्फ जादै गरेको प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा घाईते ४ जनामध्ये ३३४५ नम्बरमा सवार अभिषेक श्रेष्ठको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको छ । 


त्यसका चालक झापा मेचीनगर ८ का २१ वर्षीय अनिष गिरी र ३९९५ नम्बरका चालक मोरङ उर्लाबारीका २१ वर्षीय निकेश शिवकोटी र पछाडि सवार मेचीनगर ८ का २१ वर्षीय प्रबिण मेचेको सोही अस्पतालमा उपचार भईरहेको प्रदेश प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताएका छन् ।