प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले सपथ लिए

२0७८ कार्तिक १६ मंगलवार
प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले सपथ लिए

 उदयपुर

प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री भएका छन् । एमालेका मुख्यमन्त्री भीम आचार्यले अघिल्लो दिन विश्वासको मत लिन नसकेर राजीनामा दिएपछि मंगलबार उनको नेतृत्वमा ६ सदस्यीय प्रदेश मन्त्रालय गठन भएको हो । 


उनीसँगै ४ मन्त्री र १ राज्य मन्त्री नियुक्त भएका छन् । नव नियुक्त मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की, आन्तरिक मामिला मन्त्री केदार कार्की र सामाजिक विकास मन्त्री जयराम यादव तथा सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे नियुक्त भएका छन् । उनीहरु सबैले मंगलबार साँझै सपथ लिएका छन् । 


प्रदेश १ मा ५ दलीय गठबन्धनको पहलमा संयुक्त सरकार गठन भएको हो। कांग्रेसबाट हिमाल कार्की र केदार कार्की, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्वो र जनता समाजवादीका जयराम यादव हुन्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फे छन् । 


यसैबीच मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएर मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् । मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै पहिले विश्वासको मत लिने अनि मन्त्रालयको संख्या थप गर्ने र मन्त्रिपरिषद विस्तार गर्ने बताए ।


प्रदेश सरकारले अघिल्लो सरकारले ल्याएके बजेट सञ्चालन गर्ने या अर्को बजेट ल्याउने भन्ने विषयमा पनि सत्तारुढ गठबन्धनसँग छलफल गरेर मात्र टुंगो लगाउने मुख्यमन्त्री राईले बताएका छन् । योजना छनोटमा सांसदहरुलाई भूमिका दिने विषयमा पनि विचार गर्ने उनले बताए ।