एमाले त्रियुगामा भएन सहमति, भोलि चुनाव

२0७८ कार्तिक १२ शुक्रबार
एमाले त्रियुगामा भएन सहमति, भोलि चुनाव

उदयपुर

पार्टीमा दुईलाईन संघर्ष गर्ने नेताहरु झलनाथ खनाल र माधव नेपाल एकीकृत समाजबादी गठन गरेर बाहिरिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रमा जे बोल्यो त्यही गर्न सहज भएको छ । वरिष्ट नेताहरु खनाल र नेपालको वहिरगमनपछि एकछत्र विधान अधिवेशन गरेर पार्टीले ओलीको बिकल्प ओली मात्र हुन् र गुट समाप्त भएको सन्देश दिइरहेकै बेला उदयपुरमा भने गुटको विउ बाँकी नै रहेको छनक देखिएको छ । 


९ गते सुरु स्थानीयतह अधिवेशनमा देशभर गुट सकियो भन्ने सन्देश दिन पनि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ओलीले आव्हान नै गरेका थिए । तर, सुनसरीको धरान उपमहानगरमा २ अधिवेशनबाट अलग अलग समानान्तर कमिटी गठन भएका छन् भने उदयपुरमा ५ दिनसम्म अधिवेशन लम्बिन पुगेको छ । 


उदयपुरका ५ स्थानीयतहमा सर्वसम्मत नेतृत्व चयन भए पनि बाँकी ३ तहमा सर्वसम्मत गर्ने प्रयासमा ३ दिन पार्टीले खर्च गर्नु पर्यो । बेलका र चौदण्डीगढीमा भने अधिवेशन सुरु भएको तेस्रो दिन सर्वसम्मत हुन सफल भएको छ भने त्रियुगामा  कमिटी चयन गर्न चुनावमै जानुपर्ने बाध्यता सिर्जना भएको छ । 


सहमतिको प्रयास असपल भएका कारण शनिबार चुनावी प्रक्रियामार्फत नेतृत्व चयन गर्ने टुंगा लगाइएको पार्टीले जनाएको छ । त्रियुगामा सृजना दनुवार, दुर्गानन्द चौधरी, केशव घिमिरे र कुलबहादुर राउतले अध्यक्षमा दावी गरेका छन् । सर्वसम्मत नेतृत्वका लागि पटक पटक छलफल भए पनि कोही पछि नहटेपछि चुनावी प्रक्रियामा जानुपर्ने बाध्यता आईपरेको साविक कमिटीका सहसंयोजक सागर नेपालले बताए । 


नेपालका अनुसार अध्यक्षसँगै पदाधिकारी चयनमा पनि त्रियुगामा निकै रस्साकस्सी चलिरहेको छ । दुई उपाध्यक्ष, सचिव र सहसचिवका लागि पनि दर्जन बढी आकांक्षी रहेकाले अध्यक्ष मात्र नभएर पदाधिकारी छनौटमै पार्टीलाई निकै ठूलो कसरत गर्नुपर्ने अवस्था रहेको नेपालले बताए । 


एमालेमा खासगरी ०७८ पुस ५ गतेपछि र ०७५ जेठ २ अघिको अवस्थाका खेमाबीच प्रतिस्पर्धा चलेकाले नेतृत्व चयन पेचिलो बन्न पुगेको कार्यकर्ताकै स्वीकारोक्ति छ । ओलीले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री हुँदा पुस ५ गते संसद बिघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि तत्कालीन कार्यकारी अध्यक्ष प्रचण्ड तथा वरिष्ट नेताहरु माधव नेपाल र झलनाथ खनालले ओली कदमविरुद्ध प्रतिगमनको संज्ञा दिदै देशव्यापी आन्दोलन थाले । 


ओली कदमलाई प्रतिगमनको संज्ञा दिदै सच्याउन दबाब दिन प्रचण्ड माधव समूहले देशव्यापी चर्किएको सडक आन्दालनमा धेरै नेताकार्यकर्ता उनीहरुको साथमा गएपछि ओलीले आफ्नो पक्षधरलाई समेटन केन्द्रीय सदस्य र देशभर समानान्तर कमिटी गठन गरे । त्यो अवस्थामा ओलीलाई बचाउ गर्नेहरुले पार्टीलाई शंकट परेका बेला आफुहरुको योगदान रहेको भन्दै अहिले नेतृत्व लिन कम्मर कसेका छन् । त्यस्तै लामो समयसम्म नेपाल समूहमा रहेका नेताकार्यकर्ता नेकपा (एकीकृत समाजबादी) गठन गरेर खनाल र नेपाल बाहिरिए पनि ०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउन ओली राजी भएपछि एमालेमै बसेकाहरु पनि नेतृत्व छाड्ने पक्षमा नरहेपछि अधिवेशन लम्बिएको हो । 


त्रियुगामा अध्यक्ष उम्मेदवार दनुवार प्रतिगमनविरुद्धको आन्दोलन चर्कदै गर्दा अधिकतर कार्यकर्ताले ओलीलाई छाड्दै गएका बेला नगर कमिटी अध्यक्ष भएर पार्टीलाई बचाएको भन्दै दावी प्रस्तुत गरेकी छिन् । पार्टीलाँई शंकट परेका बेला अग्रपंतिमा रहेर योगदान दिनेमध्येकी एक भएकाले उनलाई नै अध्यक्ष दिनुपर्ने दावी पुस ५ पछिको समूहको छ । हुन त अर्का प्रत्यासी चौधरी पनि पहिलेदेखि नै ओली समूहमा रहदै आएका छन् । 


अर्का प्रत्यासी घिमिरे एमाले र माओबादी मिलेर नेकपा भएपछि कार्यकर्ता समायोजनको क्रममा नगर अध्यक्ष भएकाले आफैले अध्यक्ष पाउनुपर्ने दावी गर्छन् भने राउत पनि अध्यक्षको हैसियत बनाईसकेको भन्दै उम्मेदवारीबाट पछि हट्ने पक्षमा छैनन् । चारैजनाले नछाड्ने भएपछि कार्यकर्ताबाट अनुमोदन हुनका लागि चुनावी प्रक्रिया अपनाउनुपरेको अध्यक्ष मण्डलले जनाएको छ । 


शनिबार हुने चुनावमा अध्यक्षसँगै पदाधिकारीको प्यानलै उम्मेदवारी पर्ने संभावना रहेको कार्यकर्ताहरु बताउँछन् । अध्यक्षबाहेक पदमा पनि धेरै आकांक्षी भएको तथा चुनाव गर्नै पर्ने भईसकेपछि माथिदेखि तलसम्मै गरौँ भन्नेमा नेताकार्यकर्ताहरु सहमत भएको उनीहरु बताउँछन् । 


उता चौदण्यडीगढी र बेलका नगरपालिकामा भने लामो प्रयासपछि बिहीबार साँझ सर्वसम्मत नेतृत्व चयन भएको छ । चौदण्डीगढीमा श्याम राई सर्वम्मत अध्यक्ष चुनिएका छन् भने बेलकामा गणेश बस्नेत छानिएका छन् । चौदण्डीगढीमा अध्यक्षका दावेदारहरु भोलाचन्द्र राई, जयकुमार राई र प्रकाश र।उत पछि हटेपछि राई सर्वसम्मत हुन सफल भएका हुन् भने ​सुरेन्द्र चामलिङ, बसन्त मगर र कृष्ण काप्mलेले दावी छाडेपछि बस्नेत सर्बसम्मत भएका हुन् 


उता कटारी नगपालिकामा ९ गते नै सञ्जिव कार्कीको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन भईसकेको छ । लिमचुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीमा पनि अधिवेशन सुरुको भोलिपल्टै सर्वसम्मत कमिटी गठन भईसकेका छन् । लिमचुङबुङमा भलराज राई, रौतामाईमा केशव चामलिङ, ताप्लीमा तोपबहादुर ज्युठकुरी र उदयपुरगढीमा यम्बरबहादुर खत्री अध्यक्ष छानिएका हुन् । एमालेले नगर कमिटी ७५ र गाउँ कमिटी ६५ सदस्यीय निर्माण गर्ने विाधनमा व्यवस्था छ ।