लिमचुङबुङका सबै वडामा निशूल्क स्वास्थ्य शिविर

२0७८ कार्तिक ११ बिहीबार
लिमचुङबुङका सबै वडामा निशूल्क स्वास्थ्य शिविर

उदयपुर

लिमचुङबुङ गाउँपालिकामा निशूल्क महिला शिविर सञ्चालन भईरहेको छ । ९ गतेदेखि सुरु भएको महिला ‘निशूल्क स्कृनिङ शिविर’ बिहीबार वडा नंं. ४ बलम्ता स्वास्थ्य चौकीमा भईरहेको छ । 


खासगरी महिलाहरुको बच्चादानी (पाठेघर)मा हुने क्यान्सरबाट बँचाउने उदेश्यले अयाोजित शिविर गाउँपालिकाका ५ वटै वडामा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले बताए । महिलाको बच्चादानीको सुरक्षा गर्न गाउँपालिकाले वडावाईज घुम्ती शिविर राखेको लिम्बुले बताए । 


आउँदो १३ गते शनिबारसम्म चल्ने शिविर गाउँपालिका महिला विकास शाखाको आयोजनामा भईरहेको शिविरको सुरुवात गाउँपालिका केन्द्र बाराहास्थित ३ नं. वडामा मंगलबार र बुधबार ५ नंं वडा जाँतेमा सम्पन्न भईसकेको छ । सहायक महिला विकास निरीक्षक सुनिता लिम्बुका अनुसार बिहीबार ४ नंं. बलम्ता, शु्क्रबार २ नंं. वडा ताम्लिछा स्वास्थ्य चौकी र अन्तिम दिन शनिबार १ नंं. बाँसबोटे स्वास्थ्य चौकीमा सञ्चालन हुने छ । 


उदयपुर जिल्ला अस्पतालकी प्रसुति प्रमुख छवित्रा राई नेतृत्वको स्वास्थ्य टोलीले शिविरमा उपचार गरिरहेको छ । टोलीमा ओरेक नेपाल र लिमचुङबुङ गाउँ अस्पतालका तालिम प्राप्त स्वास्थ्यकर्मीहरु पनि संलग्न रहेका छन् । शिविरमा महिलाहरुको स्वास्थ्य परीक्षण तथा परामर्श र उपचार गर्ने काम भईहेको स्वास्थ्य शाखा प्रमुख नौलशेर राईले बताए । 


बाराहा स्वास्थ्यचौकी शिविरमा ३८ जना महिलाले परीक्षण गरेकोमा आधादर्जनको अवस्था जटिल पाइएको छ । जाँतेमा सम्पन्न शिविरमा ५३ जना महिलाले परीक्षण गराएकोमा ६ जनाको अवस्था जटिल पाइएको राईले बताए । 


अक्सर महिलाहरुको बच्चादानीमा थाहै नपाई लाग्ने रोकको रोकथाम गर्न शिविर महत्वपूर्ण हुने भएकाले शिविर सञ्चालन गरिएको हो । यौन रोग भएका कारण लाज शरमले गर्दा समयमा परीक्षण नगर्दा थाहै नपाई रोग लागेर क्यान्सरजस्तो प्राणघातक रोगमा परिणत हुने भएकाले शिविर आयोजना गरिएको गाउँपालिकाका सूचना अधिकारी तथा लेखा अधिकृत ताराकिरण राईले बताए । 


शिविरमा पत्ता लागेका जटिल खालका बिरामी महिलालाई पहिलो चरणको उपचारस्वरुप ‘रिङ प्रेसरी’ लगाउने काम गरिने उनले बताए । क्यान्सर लाग्न लागेको पत्ता लागेका बिराममीको शल्यक्रिया (अप्रेसन) गर्न सुविधा सम्पन्न अस्पतालमा पठाउने गाउँपालिकाले जनाएको छ । 


बच्चादानीमा क्यान्सरजस्तो रोग लागेमा उपचार संभव नहुने भएकाले बेलैमा परीक्षण गर्न शिविरले सहयोग पुग्ने गाउँपालिकाको बुझाई छ । बच्चादानी परीक्षण गर्न महिलाहरु यौनजन्य रोग भएका कारण लुकाउने गरेका छन् ।