एमसीसी दलीय सहमतिमा मात्रः परराष्ट्र मन्त्री खड्का

२0७८ कार्तिक ८ सोमबार
एमसीसी दलीय सहमतिमा मात्रः परराष्ट्र मन्त्री खड्का

उदयपुर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बहुचर्चित अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) दलीय सहमति गरेर पास गर्नुपर्ने बताएका छन् । गृह जिल्ला गाईघाटमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा. खड्काले दलीय सहमतिपछि मात्र एमसीसी पास हुने बताएका हुन् । 


काँग्रेसनिकट नेपाल प्रेस युनियन उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खड्काले एमसीसी पास गराउने विषयमा सबै राजनीतिक दलहरुसँग छलफल भईरहेको बताए । यो विषय संसदको बिजनेस भएकाले संसदबाटै छिनोफानो हुने पनि उनको भनाई थियो । 


‘एमसीसी सिंगो राष्ट्रसँग सम्बन्धित परियोजना भएकाले पास गर्ने नगर्ने भन्ने कुरामा दलीय सहमतिको खाँचो हुन्छ’ खड्काले भने ‘त्यसैले यसबारे गठबन्धन दलहरुबीच मात्र नभएर प्रतिपक्षी दल एमालेसँग पनि छलफल हुनुपर्छ । साझा धारणा बनाएर मात्र पास गराउनुपर्छ ।’


अहिले सरकारले कोविड नियन्त्रणमा प्राथमिक्ता दिएको पनि खड्काले बताए । जनतालाई कोविडमुक्त बनाउने सरकारको पहिलो कर्तव्य भएको भन्दै त्यसका लागि सरकार प्रतिबद्ध भएर लागिरहेको उनले बताए । खोप पाउन बाँकी उमेर समूहलाई पनि सरकारले छिटै लगाउने व्यवस्था मिलाउन खोप ल्याउने काम भईरहेको डा. खड्काले बताए ।


उदयपुर निर्वाचन क्षत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य रहेका खड्का परषट्रमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएका हुन् । अघिल्लो साँझ गाईघाट आईपुगेका उनी आसन्न पार्टीको १४ औं महाधिवेशनमा संस्थापनपक्षलाई मजबुत बनाउने अभियान सफल पार्न आएको एक काँग्रेस नेताले बताए । ्


उदयपुरमा देउवा, पौडेल र सिटौलापक्षमा काँग्रेसीहरु विभाजित छन् । देउवा खेमाको अगुवाई गर्ने पूर्व जिल्ला सभापति हिमाल कार्कीलाई खड्काले सहयोग गर्दै आएका छन् । पौडेल पक्षको अगुवाई हालका सभापति विदुर बस्नेतले गर्दै आएका छन्् ।