शान्तिधामलाई पोखरेल परिवारद्वारा पक्की भवन

२0७८ कार्तिक ५ शुक्रबार
शान्तिधामलाई पोखरेल परिवारद्वारा पक्की भवन

उदयपुर, कात्तिक ३

गाईघाटका दिव्यराज पोखरेल स्वर्गीय आमा-बाउको स्मृतिमा यहाँको पोखरेल परिवारले वहुधार्मिक शान्तिधामलाई पक्की भवन निर्माण गरिदिएका छन् । त्रियुगा नगरपालिका १२ बसपार्कभन्दा पूर्वतर्फ रहेको शान्तिधामलाई पोखरेल र उनका छोराहरुले २ तले पक्की भवन निर्माण गरिदिएका हुन् । 


दिव्यराजले बाबु मायानाथ र आमा यशोदादेवीको स्मृतिमा निर्माण गरिदएको भवन बुधबार एक कार्यक्रमका बीच शान्तिधामका अध्यक्ष पं. गिरीराज खतिवडालाई हस्तान्तरण गरे । ‘मायानाथ–यशोदादेवी सत्सङ भवन’ नामाकरण गरिएको उक्त भवन पोखरेल परिवारले झण्डै ३० लाख लागत मूल्यमा निर्माण गरेको राजेश पोखरेलले बताए । 


भुई र माथिल्लो तला गरी ६ कोठा रहेको भवन पोखरेल परिवारले प्रातःस्मरणीय पितृ तर्पणस्वरुप निर्माण गरेर शान्तिधामलाई हस्तान्तरण गरिएको उनले बताए । भवन हस्तान्तरण कार्यक्रममा शान्तिधामका अध्यक्ष खतिवडाले लाखौं मूल्य बराबरको भवन बनाईदिएकोमा पोखरेल परिवारप्रति आभार व्यक्त गरे । गुरुकुलको विकास र धार्मिक उपासना गतिबिधिमा भवनको उपयोग गरिने खतिवडाले बताए ।