कर्मचारी युनियन अध्यक्षमा खतिवडा, चुनाव नगराएकोमा रायमाझी असन्तुष्ट 

२0७८ आश्विन १७ आईतवार
कर्मचारी युनियन अध्यक्षमा खतिवडा, चुनाव नगराएकोमा रायमाझी असन्तुष्ट 

उदयपुर

नेपाली काँग्रेसनिकट ‘निजामति कर्मचारी युनियन’ उदयपुरको अध्यक्षमा भगवति खतिवडा चयन भएकी छिन् । गाईघाटमा शनिबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट खतिवडा सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् । 


अधिवेशनले खतिवडा नेतृत्वमा २ उपाध्यक्ष, सचिव र सहसचिव तथा ६ जना सदस्य तथा ४ जना केन्द्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा पुष्पराज सापकोटा र सुशील भण्डारी छानिएका छन् भने सचिवमा उत्तम भट्टराई र सहसचिव रुद्र सापकोटा चयन भएका छन् । 

त्यस्तै सदस्यमा खड्ग आलेमगर, दिलबहादुर धौलाकोटी, रणबहादुर खड्का, कुमारसिंह थापा, नेत्र पौडेल र लक्ष्यबहादुर श्रेष्ठ चयन भएको निर्वाचन समिति संयोजक पेशल दाहालले बताए । 


अधिवेशनले निवर्तमान अध्यक्ष पहलमान खड्का, तेजबहादुर पोखरेल, बाबुराम फुँयाल र ढकराज कटुवाललाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको निर्वाचन समिति संयोजक पेशल दाहालले बताए । 


अध्यक्षका लागि आकांक्षी २ जनामध्ये खतिवडा सर्वसम्मत भएकी छिन् । अर्का आकांक्षी भुपध्वज रायमाझीले भने चुनावी प्रक्रिया अपनाउन नदिएर निर्वाचन समितिले लोकतान्त्रिक मूल्यमान्यताको अपमान गरेको आरोप लगाएका छन् । निर्वाचन समिति र केन्द्रीय प्रतिनिधिले चुनावी प्रक्रिया अपनाउन नदिएर सर्वसम्मत समिति चयनको नाममा लोकतान्त्रिक बिधि र प्रक्रियाको धज्जी काढेको रायमाझीको आरोप छ । 


यसअघि उपाध्यक्ष रहेका रायमाझीले आफु पनि लामो समयदेखि युनियनमा बसेर काम गर्दै आएको तर, अहिले लोकतान्त्रिक प्रक्रियामार्फत अध्यक्षमा प्रतिस्पर्धा गराउन खोज्दा सर्वसम्मत गर्ने नाममा आफुलाई चुनावी प्रतिस्पर्धामा भाग लिनबाटै वञ्चित गरेको गुनासो गरे ।  


केन्द्रीय प्रतिनिधिले भने खतिवडा एक मात्र महिला उम्मेदवार भएकाले प्राथमिक्ता दिएर सर्वसम्मत अध्यक्षमा चयन गरेको जनाएका छन् । युनियनका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष मानबहादुर वनले अध्यक्षका आकांक्षीहरु अरु पनि भए पनि  पहिलो पटक महिलाले अध्यक्षको दावी गरेका कारण नेतृत्वमा प्राथमिक्ता दिउँ भनेर सर्वसम्मत गरिरएको प्रतिक्रिया दिए ।