गाईघाटका सडकमा जेब्राक्रस

२0७८ आश्विन १६ शनिबार
गाईघाटका सडकमा जेब्राक्रस

उदयपुर

सदरमुकाम गाईघाटका सडकमा जेब्राक्रस निर्माण सुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरले विद्यार्थीहरुको सहयोगमा बजारको सडकका बिभिन्न ठाउँमा जेब्राक्रस निर्माण थालेको हो । 


शुक्रबारदेखि निर्माण सुरु भएको जेब्राक्रस शनिबारसम्म गाईघाट मुख्यचोकमा ४ वटा बनाईसकिएको छ । सुरुवाती चरणमा गाईघाट–लाहान खण्ड, उत्तरतर्फ पिपलचोक र पूर्वपश्चिम खण्डमा जेब्राक्रस बनाइएको छ । 


बजारदेखि त्रियुगा बसपार्कसम्म जाने सडकका दुवै लेनमा अति व्यस्त बजार भएकाले दुर्घटनाको संभावना ज्यादा भएको भन्दै पहिले त्यहाँ जेब्राक्रस बनाउन थालिएको हो । त्यससँगै मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा प्राथमिक आँखा उपचार केन्द्रदेखि बरुवा पुलसम्मको बजारक्षेत्रमा पनि जेब्राक्रस बनाइने ट्राफिक प्रमुख नायव निरीक्षक (सई) लिला श्रेष्ठले बताए । 


मदन भण्डारी लोकमार्ग बनाइएपछि लामो तथा छोटा दुरीका बाक्लो सवारीसाधन दु्रत गतिमा चल्ने भएकाले जेब्राक्रसको अति आवश्यक परेको सई श्रेष्ठले बताए । 


जेब्राक्रस बनाउन बिराटनगरस्थित कोसी हेल्थ एण्ड साईन्स कलेजमा सार्वजनिक स्वास्थ्य विज्ञान विषयमा स्नातकतह (बिपिएच)का इन्टर्न (प्राक्टिकल) अध्ययनरत विद्यार्थीहरुको सहयोग रहेको छ । उनीहरुको सहयोगले दुईदिनमै ४ वटा जेब्राक्रस निर्माण गरिसकेको ट्राफिकले जनाएको छ ।