त्रियुगा र चौदण्डीगढीको जितीयामा सार्वजनिक बिदा

२0७८ आश्विन १३ बुधबार
त्रियुगा र चौदण्डीगढीको जितीयामा सार्वजनिक बिदा

उदयपुर

उदयपुरका थारु बाहुल्यता रहेको त्रियुगा र चौदण्डीगढी नगरपालिकाले थारु समुदायको महान् चाड जितीया पर्वको अवसरमा सार्वजनिक बिदा दिएका छन् । त्रियुगा नगरपालिकाले १३ र १४ गते तथा चौदण्डीगढी नगरपािलकाले १३ गतेका दिन जितीयाको सार्वजनिक बिदा दिएका हुन् । 

 


बिदाको बेला अत्यावश्यकबाहेक कार्यालयका सबै कामकाज नहुने नगरपाकिाले जारी गरेको सूचनामा जनाइएको छ । थारु समुदायको महत्वपूर्ण चाड जितीया भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिएको सूचनामा जनाइएको छ । बिदाका दिन अत्यावशयक कामबाहेक कार्यालयले अरु काम नगर्ने सूचनामा उल्लेख छ ।  


त्रियुगा र चौदण्डीगढीले यसअघि पनि जितीयाको अवसरमा बिदा दिदै आएका छन् । किराती समुदायको साकेला उभौली, उधौली, तामाङ गुरुङको ल्होसार, मगरको माघीलगायत सबै जाति समुदायको चाड पर्वमा पनि यी नगरपालिकाहरुले सार्वजनिक बिदा दिदै आएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बिभिन्न जातजाति समुदायको चाड पर्वमा बिदा दिदै आएको उनीहरुले जनाएका छन् । 


यसैबीच जितीयाको अवसर पारेर सदरमुकाम गाईघाटमा जितीया महोतसव आयोजना गरिएको छ । थारु कल्याणकारीणी सभा उदयपुरको आयोजनामा ३ दिनसम्म चल्ने सांस्कृतिक तथा सांगीतिक महोत्सव हवाईफिल्डस्थित थरुहट उदयपुर रंगशालामा सञ्चालन हुने सभाका अध्यक्ष शिवकान्त चौधरीले बताएका छन् । 


बुधबारदेखि सुरु महोत्सवमा चर्चित गायक गायिकाहरु अनु चौधरी, नरेश जोगी, अनुजा चौधरी, आरसी चौधरी, रेन चौधरी, विजय चौधरीलगायतको प्रस्तुति रहनेछ । त्यस्तै चर्चित रंगकर्मी कलाकार तथा निर्देशक प्रदिपकुमार चौधरीले पनि विशेष प्रस्तुति दिनेछन् । थारु पहिचान र परिकारसहितको महोत्सव त्रियुगा नगरपालिकाको सहयोग र बिभिन्न संघसंस्थाको प्रायोजनमा आयोजना गरिएको सभाले जनाएको छ ।