उदयपुरका साहसहित सूचनाको हकका ५ अभियन्तालाई सम्मान

२0७८ आश्विन १३ बुधबार
उदयपुरका साहसहित सूचनाको हकका ५ अभियन्तालाई सम्मान

उदयपुर

उदयपुरका अजयकुमार साहसहित सूचनाको हकका अभियन्ताहरु सम्मानित भएका छन् । राष्ट्रिय सूचना अयोगले सूचनाको हकको प्रबद्र्धन गर्न समाजमा योगदान गरेको भन्दै साहसहित देशभरका ५ अभियन्तालाई सम्मान गरेको हो । 


अघिल्लो दिन काठमाडौंमा आयोजित सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्त्तर्राष्ट्रिय दिवसका अवसरमा उनीहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । अभियन्ताहरु उदयपुरबाट साह, बाराबाट डा. मुन्नाकुमार मिश्र, धनुषाबाट शैलेन्द्रकुमार महतो, झापाबाट ईश्वरा तिवारी र पर्साबाट रामपुकार रौनियार सम्मानित भएका हुन् । गत जेठ २२ गते आयोग स्थापना दिवसको अवसरमा घोषित बिनय कसजु उत्कृष्ट राष्ट्रिय अभियन्ता पुरस्कारबाट उनीहरुलाई सम्मान गरिएको हो । 


कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अभियन्ताहरुलाई सो दोसल्ला ओढाउँदै पुरस्कार र सम्मान गरे । सो अवसरमा आयोजित दीगो विकास लक्ष्यः सूचनामा पहुँच (१६ः१०ः२) को अवस्था र कार्यदिशा विषयक राष्ट्रिय विचार गोष्ठीमा बोल्दै तिमिल्सिनाले राज्यका हरेक निकायलाई सूचनाको हक प्रदान गर्ने सन्दर्भमा कहीँकतै कमजोरी भए त्यसलाई सच्याउन सुझाव दिए । सूचनाको हक कार्यान्वयनको विषय लोकतन्त्र र सुशासनसँग जोडिएकाले लिने र दिने दुवै पक्ष जागरुक हुन आवश्यक रहेको पनि उनको भनाई थियो । राज्यबाट सम्पादन हुने ह। हरेक काम कारबाहीलाई पारदर्शी तुल्याउन जनता र सबै तहका सरकार सचेत हुनुपर्ने भन्दै उनले भ्रष्टाचार न्यूनिकरण, सुशासन कायम र लोकतन्त्रलाई सुदृढ तुल्याउन सूचनाको हक कार्यान्वयनले ठूलो योगदान पुग्ने बताए । 


राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले जनताले सही सूचना प्राप्त गर्न नसकेमा राज्यद्वारा प्रदान गरिने सेवासुविधा दुरुपयोग हुनसक्ने भन्दै सचते गराए । सूचनाको हक सुशासनका लागि चाहिने आवश्यक तत्व भएको भन्दै पौडेलले राज्यको स्रोतसाधनको सदुपयोग भए÷नभएको विषय जनताले सूचनाको हक कार्यान्वयनबाट मात्र थाहा पाउने भएकाले यसलाई ठोस रुपमा कार्यान्वयन गर्नु अवाश्यक रहेकोमा जोड दिए । 


राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचार घटाउन र नागरिकलाई बलियो बनाउन राज्यका सबै निकायले जनतालाई सूचना प्रवाह गर्न कन्जुस्याइँ नगर्न सुझाए । स्थानीयतहका कामकारबाहीसँग जोडिएका थुप्रै उजुरी बढ्दै गएको भन्दै उनले लोकतान्त्रिक पद्धति सुदृढ मात्र होइन, नागरिक पनि सचेत भइसकेको र यसो हुनुमा सूचनाको हकको कार्यान्वयन पक्ष सवल हुँदै गएको बताए । सूचनाको हक कार्यान्वयनले राज्यलाई जिम्मेवार र उत्तरदायी बनाउनेमा पनि उनको विश्वास थियो । 


त्यसैगरी सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालले सूचनाको हक सम्पूर्ण रुपमा स्थापित गराउन आयोगले अझ बढी घनिभूत छलफल र क्रियाशीलता देखाउनसक्नुपर्नेमा जोडदिए । सूचनाको हकलाई कार्यान्वयन गर्न र प्रत्येक सूचना सरोकालवालासँग छिटोछरितो र सरल ढङ्गबाट जनसमक्ष पुर्याउन मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी पनि उनले दिए ।


नेपाल पत्रकार महासङ्घका अधयक्ष विपुल पोख्रेलले लोकतन्त्रसँग अन्योन्याश्रित सम्बन्ध रहेको सूचनाको हकको कार्यान्वयन गर्ने सन्दर्भमा सूचना लिने र दिने संस्कृतिलाई व्यवस्थित तुल्याउन आवश्यक रहेको बताए । सूचना आदानप्रदान गर्नाले पारदर्शी समाज निर्माण गर्ने भन्दै उनले  पारदर्शी समाजले मात्र लोकतन्त्रलाई बलियो बनाउन सक्ने भएकाले लोकतन्त्रलाई बलियो बनाउने आयामसँग यसलाई जोड्न आग्रह गरे । 


आयोगका सचिव भगिरथ पाण्डेले सबै जनतामा सूचनाको पहुँच विस्तार गर्ने सिलसिलामा आयोगद्वारा भर्इरहेका प्रयासबारे जानकारी दिएका ािथए । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने सूचना अधिकारी दयाराम तिवारी (मुस्लिम आयोग), सुरजकुमार भुजेल (थाहा नगरपालिका), राजेश चौधरी (जिल्ला हुलाक कार्यालय ताप्लेजुङ) र सरोज खतिवडा जिल्ला हुलाक कार्यालय खोटाङलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।