लिमचुङबुङको यात्रुबाहक बस सञ्चालनमा आयो

२0७८ आश्विन ११ सोमबार
लिमचुङबुङको यात्रुबाहक बस सञ्चालनमा आयो

उदयपुर

उदयपुरको कर्णाली भनेर चिनिने लिमचुङबुङ गाउँपालिकाको यात्रुबाहक बस सञ्चालनमा आउने भएको छ । बिगत दुईवर्षअघि गाउँपालिकाले आफ्नै स्वामित्वमा बस सञ्चालन गर्नेगरी खरिद प्रक्रिया अघि बढाउन बजेट बिनियोजन गरेको थियो । 


‘मिडिल बडी’को तयारी बस सोमबार बिहान गाउँपालिकातर्फ लगिएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भ्एको छ । अध्यक्ष मेजरकुमार राई, प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बु, लेखा अधिकृत ताराकिरण राईलगायत जनप्रतिनिधि र कर्मचारीको टोली गाईघाट कदमाहा सडक खण्डमा पर्ने चुरे मन्दिरमा पुजा गरेर गाउँपालिकातर्फ लागेको गाउँपालिकका प्रेस संयोजक दिनेश राईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । 


गाउँपालिकाले आन्तरिक र बाह्य सेवा दिने गरी छिट्टै ‘लिमचुङबुङ एक्सप्रेस’ बस सञ्चालनमा ल्याउने स्रोतले जनाएको छ । बस कति लागत मूल्यमा खरिद गरिएको हो भन्ने विषयमा जिज्ञासा राख्न सम्पर्क गर्दा अधिकृत लिम्बु र लेखा अधिकृत तथा सूचना अधिकारी राईसँग समपर्क हुन सकेन । 


तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भक्त राईका अनुसार सार्वजनिक बस खरिद गरेर गाउँमा सञ्चालन गर्नेगरी गाउँपालिकाले आर्थिक वर्ष ०७६–७७ मै बजेट बिनियोजन गरेको थियो । त्यसबेला बिनियोजित ५७ लाख रुपैंयाबाट क्याटलक प्रोसेसमार्फत बस खरिद गर्ने भनिए पनि युक्तिसँगत नदेखिएकाले खरिद प्रक्रिया बद्लेर टेण्डरमार्फत बस किन्ने निर्णय भएको थियो । खरिद प्रक्रिया चल्दै गर्दा कोविड सुरु भएपछि काम रोकिएर ढिला हुन गएको उनले बताए । पछिल्लो अवस्थामा बसको लागत मूल्य कति हो भन्ने आफुलाई जानकारी नभएको राईले बताए । 


६ महिनाभित्र बस सेवा सञ्चालन गर्ने घोषण अध्यक्षले गरेको लामो समयसम्म बस खरिद नै नगरेको भन्दै गाउँबासीले जनप्रतिनिधिप्रति चर्को गुनासो गरेका थिए । अध्यक्ष मेजरकुमार राईले जनतालाई सदरमुकाम आउजाउ गर्न कठिनाई सहज बनाउन गाउँपालिकाकै स्वामित्वमा बस किनेर सञ्चालनमा ल्याउने भने पनि काम ढिलो भएकोप्रति असन्तुष्टि जनँईरहेकै बेला पूर्व सविच भिम उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा डाँडाभाटा (करङ)सहितको बसको तस्विर हालेपछि भाईरल भएको थियो । 


उपाध्यायले उक्त तस्विर गाउँपालिकालाई बस उपलब्ध गराउने जिम्मा पाएको गाईघाटस्थित लक्ष्मी अटो पार्टस प्रालिको प्रांगणमा अलपत्र अवस्थामा खिचेको बताएका थिए ।