त्रियुगा काँग्रेस सभापतिमा प्रकाश खड्का, कार्की पक्ष सबल देखियो

२0७८ आश्विन १0 आईतवार
त्रियुगा काँग्रेस सभापतिमा प्रकाश खड्का,  कार्की पक्ष सबल देखियो

उदयपुर

नेपाली काँग्रेसको त्रियुगा नगर सभापतिमा प्रकाश खड्का विजयी भएका छन् । पार्टीको आसन्न १४ औं महाधिवेशनअन्तर्गत जिल्लाका ८ वटै स्थानीयतहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न हुने क्रममा त्रियुगामा खड्काले सुमन चौधरीलाई पराजित गर्दै सभापति जितेका हुन् । ४ नगरपालिका र ४ गाउँपालिका रहेको उदयपुरमा दुई गाउँपालिकामा निर्बिरोध र बाँकीमा चर्को प्रतिस्पर्धाका साथ शनिबार अधिवशेन सकिएको हो ।


पार्टी जिल्ला कार्यालयका अनुसार आउँदो जिल्ला अधिवेशनमा पूर्व सभापति हिमाल कार्की र वर्तमान सभापति बिदुर बस्नेतबीच प्रतिस्पर्धा हुदैछ । सोही अनुसार छुट्टाछुट्टै प्यानल खडा गरेर खडा भएका प्रतिस्पर्धीहरुले आईतबार विहानसम्ममा मैदान सफा गरिसकेका छन् । कार्की र बस्नेत दुवै आउँदो जिल्ला अधिवेशनमा सभापतिको दावेदार हुन् । कार्की खेमालाई उदयपुर प्रतिनिधिसभा १ नं. का संघीय सांसद तथा नवनियुत्तः परराष्ट्रमन्त्री डा. नारायण खड्काको पनि सहयोग छ । 


शनिबार भएको ४ नगरपालिका र २ गाउँपालिकाको मत परिणामले कार्की पक्ष सबल देखिएको छ । कार्कीपक्षलाई त्रियुगा, चौदण्डीगढी, बेलका र लिमचुङबुङ गाउँपालिकाकमा सभापतिसहित प्यानलै हात परेको छ । बेलकामा अशोक कार्की पक्षले बस्नेत प्यानलका बाबुराम थापालाई ४८ मतका विरुद्ध ९७ मत पाएर प्यानलै जितेको छ । कार्की ०७४ को स्थानीयतह निर्वाचनमा बेलका नगरपालिका मेयरका पराजित उम्मेदवारसमेत हुन् । 


त्यसैगरी चौदण्डीगढी नगरमा पनि कार्की पक्षकै राजेन्द्र पौडेलको प्यानल जितेको छ । उनले बस्नेत प्यानलका रामकुमार खड्कालाई पराजित गरेका हुन् । १ सय ८३ मतदाता रहेको चौदण्डीगढीमा कार्की प्यानलका पौडेलले ९६ मत ल्याए भने बस्नेत प्यानलका खड्कालाई ७३ मत परेको पार्टी निर्वाचन समितिले जनाएको छ । 


सबभन्दा बढी मतदाता रहेको सदरमुकाम त्रियुगा नगरपालिकामा पनि कार्की प्यानलकै प्रकाश खड्का सभापतिसहित ७ सदस्यीय समितिमा ४ जना जितेका छन् । बाँकी ३ जना भने बस्नेत प्यानलका उम्मेदवार सुमन चौधरी खेमाकाले जितेका छन् । ३ सय ८२ मतमध्ये २० मतको अन्तरले चौधरीलाई पराजित गर्दै खड्का सभापति जितेका हुन् । उता कटारी नगरपालिकामा भने बस्नेत प्यानलका प्रकाश थापा सभापतिसहित प्यानलै जितेका छन् । कटारीमा कार्की प्यानलका प्रेम थापाले ८२ मत पाउँदा बस्नेत प्यानलका प्रकाश थापाले १ सय ४९ मत ल्याएका छन् ।  


गाउँपालिकातर्फ रौतामाईमा बस्नेत प्यानलकै घमानसिंह थापामगर सभापति जितेका छन् । उनले कार्की प्यानलका टेकबहादुर दाहाललाई ७३ विरुद्ध ९६ मत ल्याएर सभापति हात पारेका हुन् । त्यसैगरी अर्को गाउँपालिका लिमचुङबुङमा कार्की प्यानलकै नेत्र कार्कीले सुनिल राईलाई पराजित गरेर सभापति हात पारेका छन् । ८२ मतदाता रहेको लिमचुङबुङमा प्रतिस्पर्धीबीच दुई मतको मात्र फरकले कार्कीले सभापति उछिट्याएका हुन् ।


अर्को गाउँपालिका ताप्ली र उदयपुरगढीमा भने सभापतिलगायत अन्य पदाधिकारी पनि निर्बिरोध चयन भएको पार्टीले जनाएको छ । उदयपुरगढी सभापतिमा यमबहादुर पाण्डे र ताप्ली गाउँ सभापतिमा दिपबहादुर रास्कोटी ठकुरी निर्बिरोध निर्वाचित भएका छन् । नगर गाउँ अधिवेशन सकिएपछि क्षेत्रीय अविधेशनको तयारीमा पार्टी लाग्ने जिल्ला सभापतिका आकांक्षी हिमाल कार्कीले बताए ।