बिप्लव नेकपाको जिल्ला कार्यालय

२0७८ आश्विन ५ मंगलवार
बिप्लव नेकपाको जिल्ला कार्यालय

गाईघाट

फुकुवामा परेपछि व्यापक संगठिन बिस्तार अभियानमा लागिकेो नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले उदयपुरले गाईघाटमा जिल्ला पार्टी कार्यालय खोलेको छ । अहिलेसम्म बिभिन्न होटल र सभाहलहरुमा कार्यक्रम गर्दै आएको पार्टीले संविधान दिवसका दिन पारेर असोज ३ गते त्रियुगा नगरपालिका ११ गाईघाटको शान्तिनगरमा पार्टी कार्यालय खोलेर सञ्चालनमा ल्याएको हो ।


मदन भण्डारी लोकमार्गसँग जोडिएको गाईघाट साकेलाटोल जाने सडकमा कन्चनजंघा होटलभन्दा केहीमाथिको तीनतले भवनको दोस्रो तलामा पार्टीले जिल्ला कार्यालय स्थापना गरेको हो । पार्टी जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले पार्टी कार्यालय उद्घाटन गर्दै नेपालको संविधान काम नलाग्ने भएकाले अर्को संविधान बनाउने दिसामा नेकपा लागेको बताए । 


पार्टी कार्यालय सेक्रेटरी दुर्गा तामाङका अनुसार भवनको दोस्रो तलामा एउटा सभाकक्ष र ३ वटा कोठा रहेको प्लाईट भाडामा लिएर कार्यालय सञ्चालनमा ल्याइएको छ । पार्टी र जनबर्गीय संगठनहरुका नियमित गतिबिधि अव त्यही कार्यालयबाट सञ्चालन गर्ने उनले बताए । 


कार्यालय उद्घाटनपछि नेकपाले पत्रकार सम्मेलन गरी पार्टी गतिबिधि र आगामी कार्ययोजनाबारे जानकारी गराएको जनाएको छ । पत्रकार सम्मेलनमा एकीकृत जनक्रान्तिको नारा लिएर अघि बढेको पार्टी वैज्ञानिक समाजबाद स्थापनाका लागि देशव्यापी अभियान चलाईरहेको जानकारी दिएको थियो ।