राष्ट्रहितविपरित हुनेगरी एमसीसी पास हुन दिदैनौंः नेता बस्नेत

२0७८ आश्विन ४ सोमबार
राष्ट्रहितविपरित हुनेगरी एमसीसी पास हुन दिदैनौंः नेता बस्नेत

उदयपुर

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का केन्द्रीय सदस्य तथा १ नं. प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले    अमेरिकन मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमससी) कुनै पनि हालतमा जस्ताको तस्तै पारित हुन नदिने बताएका छन् । सोमबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले एमसीसी पारित गर्दा देश र जनताप्रति घात नहुने गरी, राष्ट्रियतामा आँच नआउने गरी, सुरक्षा र सार्वभौमसत्तामा आधात नहुने गरी सच्याएर मात्र पास गर्नुपर्ने नेकपा पार्टीको अडान दोहो¥याए । 


बस्नेतले ओली सत्ताबाट हटे पनि एमसीसी पारित गर्न देशी विदेशी तत्वहरुसँग साँठगाँठ गरिरहेको बताए । एमसीसी पारित गराउने बहानामा काँग्रेस, माओबादी, एकीकृत समाजबादी, जनता समाजबादी र जनमोर्चाबीचको गठबनधन टुटाउने प्रयासमा ओली लागिरहेको बताउँदै उनले तर, गठबन्धन नटुट्ने बताए । ओलीले शेरबहादुर देउवासँग मिलेर गठबन्धन तोडन खोजे पनि काँग्रेसभित्र पनि एमसीसी जस्ताको तस्तै पारित गर्नु हुन्ने एउटा ठूलै समूह रहेकाले ओलीको षडयन्त्र त्यति सजिलै सफल नहुने बस्नेतको बुझाई छ । 


एकीकृत समाजबादी गठनको औचित्य पुष्टि गर्दै बस्नेतले एमाले अध्यक्ष ओलीले नेपाली जनताले रगत बगाएरु ल्याएको परिवर्तन र सहिदको अवमूल्यन गरेको बताए । ओली अध्यक्ष भएपछि एमालेलाई दक्षिणपन्थी विसर्जनबाद र चरम पुँजीबादमा भसाउँदै लगेपछि धरासायी हुँदै गएको नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाउन तथा संविधानको रक्षा गर्न नेकपा (एकीकृत समाजबादी) गठन गर्नुपर्ने बताए । ‘एमालेको अध्यक्ष भएपछि ओलीले एकपछि अर्को गरी पार्टीलाई नेपाली कम्युनिष्टको मूल प्रवाहबाट दक्षिणपन्थतर्फ भसाउँदै लगे’ बस्नेतले भने ‘सुधार्न खोग्दा नसुध्रिएपछि कम्युनिष्ट आन्दोलन नै खतरामा परेकाले हामीले नेकपा एस बनाउन बाध्य भयौं ।’ 


नेकपा (एस)ले मुलुकको कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै, समाजबादी आन्दोलनतर्फ अघि बढाउने बस्नेतको दावी थियो । ओली पार्टी र सरकारको नेतृत्वमा आएपछि जनताले प्राप्त गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्थाजस्ता ऐतिहासिक उपलब्धीहरु सिध्याउने काममा निरन्तर लागिपरेको आरोप बस्नेतको थियो । पार्टीलाई एकपछि अर्को भ्रष्ट, अनैतिक र अराजक समूहमा रुपान्तरण गर्दै गएपछि त्यसको रक्षा गर्ने जिम्मा लिन एस गठन भएको उनले बताए । 


जनताले दिएको झण्डै दुईतिहाई बहुमतको विश्वासमाथि ओलीले गम्भीर कुठाराघात गर्दै  प्रतिगमनतर्फ अघि बढेको भन्दै उनले त्यसको रक्षा गर्न पनि एस गठन गर्नुपर्ने बाध्यता आईपरेको बस्नेतले बताए । आन्तरिक सुद्धिकरणको कुरा राख्दा माधव नेपाल र झलनाथ खनाललगायत मुर्धन्य नेताहरुलाई मुलढोका प्रवेशमा रोक लगाउदै बाहिरिन बाध्य बनाएको उनले बताए । अहिले माधव नेपाललाई पार्टी पुटाएको आरोप लगाउने ओलीले ०७७ फागुन २८ गते आफुनिकट गुट भेला बोलाएर विधानबिपरित केन्द्रीय सदस्य मनोनितलगायत कार्य गरेर पार्टी फुटाउने सुरुवात गरेको उनको भनाई थियो । आफै एमाले फुटाउने अनि अरुलाई दोष दिने ओलीमाथि सर्वोच्च अदालतले नेकपा बिघटन गर्दै एमाले र माओबादी केन्द्र अलगअलग बनाईदिएपछि गुट भेलाबाट पार्टी फुटाएको आरोप उनको छ। 


ओलीले सहिदको रगतबाट प्राप्त परिवर्तन, कम्युनिष्टको बहुमत सरकार र ऐतिहासिक उपलब्धीहरुलाई एकपछि अर्को गर्दै दक्षिणपन्थमा लगेर आत्मसमर्पया गराउँदै संविधान नै सिद्ध्याउने खेलमा लागेको पनि बस्नेतको आरोप थियो । यस्तो अवस्था आएपछि देशलाई अनिर्णयको बन्दी हुनबाट बँचाउन नेकपा (एस)को जन्म भएको उनले बताए ।