त्रियुगा खानेपानीको अधिवेशन आज होईन, मंंसिर २४ गते

२0७८ आश्विन ४ सोमबार
त्रियुगा खानेपानीको अधिवेशन आज होईन, मंंसिर २४ गते

उदयपुर

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोत्तःा समिति (संस्था) को साधारणसभा आउँदो मंसिर २४ गते तोकिएको छ । त्रियुगा नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउँने लक्ष्यका साथ स्थापित संस्थाको अवधि दुईवर्षअघि नै सकिएको भए पनि कोविडका कारण रोकिएपछि मंसिमा गर्ने निर्णय भएको हो । 


यही अनुसार समितिले जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुरबाट अनुमति लिएर साधारणसभा गर्ने तयारी गर्दैगर्दा ४ वर्षअघि निलम्बित अध्यक्ष शंकर बस्नेतले भने यही असोज ४ गते (सोमबार) साधारणसभा गर्ने भन्दै व्यापक प्रचारप्रशार गरिरहेका छन् । साधारणसभा गर्ने खवरै नसुनिकन माईकिङ गरेको सुनेपछि झस्किएका उपभोक्ताहरु समितिमा सम्पर्क गर्दा मंसिरमा हुने भन्ने फरक मिति थाहा पाएपछि अहिले अन्यौलमा परेका हुन् । 


उच्च अदालतले ४ वर्षअघि अर्थात ०७३ भदौ २९ गतेको फैसला अनुसार अध्यक्षबाट हटिसकेका बस्नेतले आफुलाई अदालतले पुनः अध्यक्षमा पुनस्र्थापित गरेको भन्दै असोज ४ गते सोमबार साधारणसभा डाकेको प्रचारप्रसार र उपस्थितिका लागि सरोकारवाला निकाय र उपभोक्तालाई पत्राचार गरेपछि उपभोक्ता अलमलमा पर्नु स्वभाविक हो । प्रचारप्रसार र माईकिङले सर्वसाधारणमा भ्रम सिर्जना भएको भन्दै संस्थाले आईतबार पत्रकार सम्मेलन गरी अहिले प्रचारप्रशार भईरहेको भन्ने साधारणसभा अवैधानिक र आधारहीन भएको भन्दै कसैलाई भ्रममा नपर्न सचेत गराएको छ । 


पत्रकार सम्मेलनमा कार्यबाहक अध्यक्ष ओमबहादुर खड्काले बस्नेतलाई अदालतले ४ वर्षअघि अध्यक्षबाट हटाएर अधिकारविहीन बनाईसकाले उनको यो कदम झुट भएकाले भ्रममा नपर्न उपभोक्तालाई सचेत गराए । साधारणसभा गतवर्ष नै गर्नुपर्ने भए पनि कोविडका कारण रोकिएको र यसवर्ष गर्न खोज्दा पुनः कोविडका कारण लगाइएको निशेधाज्ञा भर्खरै खुल्दै गएपछि मंसिर २४ गते गर्नेगरी प्रशासनबाट अनुमति लिइएको उनले बताए । 


साधारणसभा बोलाएको भन्ने गरिएको प्रचार र हल्ला झुटो र भ्रामक भएको भन्दै खड्काले ०७४ भदौ २९ गतेको अदालतको फैसलाबाटै अध्यक्षबाट हटाएदेखि नै आफु कार्यवाहक अध्यक्ष भएर कार्यालय सञ्चालन गर्दै आएको बताए । अदालतको उक्त फैसलाको पूर्ण पाठ भर्खरै आएपछि बस्नेतले उल्टो प्रचार गरेर आफु अध्यक्षमा पुनस्र्थापित भएको भन्दै साधारणसभा बोलाएको आरोप खड्काले लगाएका छन् । 


६ वर्षअघि सम्पन्न साधारणसभाले छानेको ९ सदस्यीय समितिका उपाध्यक्ष हुन् खड्का । सुरुका केही बैठकमा उपस्थित भएका बस्नेत त्यसपछिका लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि विधान बमोजिम उनलाई निलम्बन गरिएको खड्काले बताए । लगातार ३ पटकसम्म बैठकमा अनुपस्थित हुने कुनै पनि पदाधिकारी स्वतः निस्कासनमा पर्ने संस्थाको विधान अनुसार बस्नेत निस्कासनमा परेको र पुनस्थार्पित हुन पाउँ भन्दै उच्च अदालत गएकोमा अदालतले पनि निस्कासनको आदेश दिएको खड्काले बताए । बस्नेत ०७३ कात्तिक ३ देखि ०७४ जेठ २६ गतेसम्मका कुनै पनि बैठकमा उपस्थित नभएपछि संस्थाले कारबाही गरेको उनको भनाई छ ।


निर्वाचित कार्यसमितिमा बस्नेतबाहेक उपाध्यक्ष ओमबहादुर खड्का, सचिव सन्तोष खड्का, कोषाध्यक्ष किरण पाण्डे र २ महिलासहित ५ सदस्य एकमत भएर संस्थालाई जीवन्त राख्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सचिव खड्काका अनुसार स्थापनाको दोस्रो कार्यकालदेखि अध्यक्ष भएर नेतृत्व गर्दै आएका बस्नेतलाई उच्च अदालत विराटनगरमातहत अस्थायी इजलास ओखलढुंगाले ०७४ भदौ २९ गते उत्प्रेषणको आदेशले अध्यक्षबाट हटाएको हो । 


अदालतले हटाईसकेको मान्छेले ‘म अध्यक्ष हुँ’ भन्दै साधारणसभा बोलाउनु अदालतकै मानहानी हुने भएको पनि खड्काले बताए । बस्नेतले अध्यक्ष हुँदा संस्थाका लागि ०६२ सालमा नगर विकास कोषबाट लिएको ६४ लाख ११ हजार ५ सय ८७ रुपैंया ऋण उनी अध्यक्ष भएसम्म सावाँव्याज केही नबुझाउँदा संस्थालाई धेरै घाटा भएको पनि खड्काले बताए । बस्नेत हटेयता भने लगभग नियमित रुपमा ऋणको सावाँव्याज बुझाउदै आएको उनले बताए । 


प्रत्येक ३ महिनामा तोकिएको सावाँव्याज रकम नबुझाउँदा बढेर ५ करोड हाराहारी पुगेको कोषाध्यक्ष किरण पाण्डेले बताए । पाण्डेले बस्नेत अध्यक्षबाट हटेपछि आफुहरुले नियमित साँवा व्याज भुक्तानी गर्दै आएको र हालसम्म १ करोड ३४ लाख बुझाईसकेको जानकारी पत्रकार सम्मेलनमा दिए ।०७३ असारमा १ लाख बुझाएको संस्थाले त्यसयता ऋणको साँवाव्याज नियमत भुक्तानी गर्दै आएको छ । जस अनुसार ०७४ मा ३ किस्तामा ३५ लाख, ०७५ मा २ किस्तामा २४ लाख र ०७६ मा दुई किस्तामा ३५ लाख साँवाव्याज बुझाएको संस्थाले ०७७ मा कोविडका कारण १८ लाख मात्र बुझाएको छ । त्यस्तै ०७८ मा पनि कोविडका कारण नियमित बुझाउन नसकेर असार मसान्तमा मात्र २१ लाख बुझाएको पाण्डेले बताए । 


यसरी ०७३ देखि ०७८ असार मसान्तभित्र सस्थाले १० किस्तामा १ करोड ३४ लाख ऋण बुझाईसकेको छ । अझै नगरविकास कोषको ऋण सावाँव्याज गरी ३ करोड २ लाख २९ हजार ७ सय ८९ रुपैंया ३५ पैसा बाँकी रहेको कोषाध्यक्ष पाण्डेले बताएका छन् । पाण्डेले पूर्व अध्यक्ष बस्नेतले संस्थाविरुद्ध बिभिन्न अभियोग लगाउँदै आधादर्जन मुद्धा अदालतमा दिएर दुःख दिँदा ५ लाखभन्दा बढी अतिरिक्त खर्चको क्षति भएको पनि बताए ।