संविधान दिवसमा उदयपुरबाट ९ कैदी जेलमुक्त

२0७८ आश्विन ३ आईतवार
संविधान दिवसमा उदयपुरबाट ९ कैदी जेलमुक्त

उदयपुर

यसवर्षको संविधान दिवसको अवसरमा ९ जना कैदी छुट सजायबाट जेलमुक्त भएका छन् । संविधान दिवसको अवसरमा कारागारमा बस्दा राम्रो आचरण भएकाहरुलाई सजायमा छुट दिने सरकारको नियमानुसार उनीहरु कैदमुक्त भएका हुन् । 


राम्रो आचरण गर्ने कैदीहरुलाई सजाय छुट गराउन कारागार शाखा हुँदै जिल्ला प्रशासन कार्याालयले गर्ने सिफारिस गृह मन्त्रालयमा पुगेपछि राष्ट्रपतिबाट त्यस्ता कैदीहरुलाई सजायमा छुट हुने व्यवस्था छ । जस अनुसार १ महिलासहित ९ जना यसवर्ष कैदमुक्त भएको उदयपुर कारागार शाखा प्रमुख कुमार खड्काले बताए । 


जेलर खड्काका अनुसार कैदमुक्त हुनेहरुमा बहुबिबाह अभियोगका २ पुरुष र १ महिला, चोरी अभियोगका १, कर्तव्य ज्यान अभियुक्त १ र सवारी दुर्घटना अभियुक्त ४ जना रहेका छन् । उनीहरुलाई कैद मिनाहा भएको खवर आए अनुसार आईतबार विहान १० बजे कारागारमुक्त गरेर बिदा गरिएको खड्काले बताए । 


९ जना कैदमुक्त भएपछि उदयपुर कारागारमा अव ३ जना आश्रित बालबालिकासहित २ सय ३९ कैदीबन्दी बाँकी रहेका छन् । जसमा पुरुष १ सय १९, महिला १५ र बालबालिका ५ जना छन् । कारागारमा सजाय भोगिरहेकामध्ये १ सय १८ कैदी तथा १ सय २१ जना बन्दी छन् । जसमा पुरुष कैदीको संख्या ११ र महिलाको संख्या ५ रहेको जेलर खड्काले बताए । 


५० जना केदीबन्दी राख्न मिल्ने क्षमताको कारागारमा अत्याधिक कैदीबन्दी राख्नु पर्दा ठाउँ साँघुरो भएर असहज हुने गरेको छ । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा कारागारमा स्थान अभाव हुनुका साथै खानेपानी र शौचालय तथा व्यवस्थापकीय समस्या झेल्नु परेको खड्काले बताए । 


०३८ सालमा बनेको एकतले भवन पटक पटकको भुकम्पले भत्केर जिर्ण बनाएकाले जोखियुमयुक्त भए पनि नयाँ भवन बनाउन आवश्यक बजेट विभागले दिएको छैन । कैदीबन्दीको चाप बढेसँगै पर्याप्त स्थानसहितको नयाँ भवन बनाउन माग गरे पनि विभागले ध्यान नदिएपछि वर्षौंदेखि काम चलाउ रुपमा कैदीबन्दीलाई राख्नुपर्ने अवस्था आईपरेको खड्काको भनाई छ । 


चालु वर्षको बजेटमा नयाँ भवन बनाउनका लागि केही रकमको व्यवस्था गरेको जानकारी आए पनि अहिलेसम्म बजेट नै पारित नभएकाले सुनिश्चित नभएको खड्काले बताए ।