आज विश्वकर्मा पुजा

२0७८ आश्विन १ शुक्रबार
आज विश्वकर्मा पुजा

आज विश्वकर्मा पुजाको दिन । वर्षेनी फलामजन्य धातुको सामग्री बनाउने तथा चलाउनेहरुका लागि विश्वकर्मा पुजाको दिन विशेष हुने गरेको छ । यही सिलसिलामा गाउँभन्दा सहरबजारमा यो दिन विश्वकर्मा बाबाको तस्विर र मूर्तिमा पुजाआजा गर्ने तथा राभतर जाग्राम बस्ने प्रचलन छ ।


आजका दिन फलामबाट बनेका साईकलदेखि मोटरसाईकल, जिप, कार, भेन, ट्याक्टर, ट्रक, बस, स्काभेटर र लरीसम्मका सवारी साधन, कम्प्युटरदेखि दराज, फ्रीज हुँदै ठूलठूला फलामका सामग्रीहरुको पनि पुजा गर्ने गरिन्छ । पुजाका दिन विश्वकर्मा बाबाको तस्विरमा माल्यार्पण गर्ने तथा भजन किर्तन गरेर भक्तजनहरुले रात बिताउने गर्दछन् । 


पछिल्लो समय सहर बजारमा विश्वकर्मा पुजालाई आडम्बरको रुपमा बढावा दिइदै गएको पाइन्छ । गच्छेभन्दा बढी ऋण काढेर तामझाम गरेर पुजा गर्ने, सामान्य लड्डु मिठाईदेखि रमाईलोका नाममा जाँड, रक्सी र तामसी भोजनको उपभोग गर्ने गराउने तथा अनावश्यक खर्च गर्ने प्रचलन बढेको पाइन्छ । चाडपर्वलाई बचाईराख्न, संस्कार परम्परालाई यथावत राख्नुपर्छ तर, आडम्बरी र तडकभडक गरेर समय र पैसाको दुरुपयोग गर्नबाट रोक्नु उत्तम हुन्छ । त्यसैले ठिक्कले चाडबाड मनाऔं, अनावश्यक आडम्बर प्रस्तुत नगरौं, सबैलाई विश्वकर्मा पुजाको शुभकामना !