विभाजनको कारण देखाऊः नेम्वाङ

२0७८ भाद्र ३१ बिहीबार
विभाजनको कारण देखाऊः नेम्वाङ

गाईघाट

संविधानसभाका अध्यक्ष तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सुबासचन्द्र नेम्वाङले नेकपा (एमाले)लाई बिभाजन गर्ने नेता कार्यकर्ताहरुलाई कारण देखाउन चुनौती दिएका छन् । बुधबार सदरमुकाम गाईघाटमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता नेम्वाङले एमाले बिभाजन गर्नुको कुनै कारण नभई ब्यक्तिगत स्वार्थ भएको बताए । 


उनले नेताहरुको व्यक्तिगत स्वार्थका कारण पार्टी चोईटिएको आरोप लगाउँदै विभाजनबाट सानो संख्यामा नेता कार्यकर्ता मात्र गएकाले एमालेलाई कुनै क्षति नहुने दावी गरे । २५ सदस्यीय मन्त्रीमण्डलमा राजनीतिक किचलोका कारण दुई महिनासम्म पनि मन्त्रीपरिषदले पूर्णता पाउन नसकेको नेम्वाङको भनाई थियो । पार्टी बिभाजन भएर गएका नेता कार्यकर्ताहरु चाँडै एमालेमा फर्कने आसा पनि नेम्वाङ गरे । 


यो सरकार जस्केलोबाट आएको भन्दै उनले यसले जनताको काम हुन नसक्ने भएकाले कार्यकर्तालाई चुनाबमुखी अभियानमा होमिन आग्रह गरे । जनताबाट निर्बाचित केपी ओली सरकारलाई हटाएर अदालतबाट गठित शेरबहादुर देउवा सरकारलाई काम गर्ने कुनै अधिकार नभएको उनको जिकिर थियो । सरकारले आफ्नै ढुकुटीमा भएको बजेट खर्च गर्न नपाउने परिस्थिति बनाएर देशलाई बन्धक बनाएको आरोप पनि उनको थियो । 


कार्यक्रममा एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीले सबै नेता कार्यकर्ताको भावना र त्यागको कदर हुने बताए । एमालेबाट चोईटिएर गएका अर्का केन्द्रीय सदस्य तथा नेकपा (एकीकृत समाजबादी)का नेता बलदेब चौधरीलाई बागी उठ्ने नेता भन्दै कटाक्ष गरे । ०५४ सालको चुनावमा त्रियुगा नगरपालिकामा बागी उठेर हारेको भन्दै उनले गत ०७४ को चुनावमा पार्टीले टिकट दिएर मेयर भए पनि चौधरीलाई बागीको लत बसेकाले एमाले छाडेर गएको आरोप उनको थियो । 


कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज तथा पूर्व सहरी विकास राज्यमन्त्री मञ्जु चौधरीले एमाले जस्ताको तस्तै रहेको भन्दै कार्यकर्ताहरुलाई ढुक्क हुन विश्वास दिलाईन् । एमाले उदयपुरका उपाध्यक्ष तथा प्रदेश सांसद बिमल कार्कीले अब एमाले अझ सक्रियताका साथ एक ढिक्का भएर अगाडि बढ्ने उद्घोष गरे ।