सुभास नेम्बाङ गाईघाटमा

२0७८ भाद्र ३0 बुधबार
सुभास नेम्बाङ गाईघाटमा

उदयपुर

नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुबासचन्द्र नेम्बाङ गाईघाट आईपुगेका छन् । एमाले विभाजनपछि तितरवितर भएका कार्यकर्तालाई गोलबन्द गर्ने उदेश्यले आयोजित पार्टी जिल्ला अगुवा भेलालाई सम्बोधन गर्न उनी यहाँ आएको पार्टीले जनाएको छ ।


बुधबार गाईघाटको हवाईफिल्डस्थित निर्माणाधीन मदन भण्डारी सभाहलमा आयोजित भेलामा सहभागी हुन पार्टी नेता कार्यकर्ताहरु गाउँगाउँबाट आएको एमालेले जनाएको छ । वरिष्ट नेता झलनाथ खनाल र माधव नेपालले बिद्रोह गर्दै नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजबादी) गठन गरेपछि छिन्नभिन्न भएका कार्यकर्तालाई थुमथुमाउन एमालेले कार्यकर्ता भेलाको आयोजना गरेको हो । 


पार्टीलाई ०७५ जेठ २ गतेको अवस्थामा फर्काउदै उदयपुर एमालेले इश्वरमणि राउतलाई अध्यक्ष मानेर पुरानो कमिटी व्युँत्याएको छ । एसमा गएका नेता कार्यकर्ताको ठाउँमा नयाँ सदस्य पदपर्ति गर्ने निर्णय पनि भेलाले गर्ने योजना रहेको पार्टीले जनाएको छ । भेलामा पार्टी सचिव भीम आचार्य र पूर्व मुख्यमन्त्री शेरधन राई पनि आउने चर्चा भए पनि अन्तिममा नेम्बाङ र १ नं. प्रदेशका पूर्व आन्तरिक मामिलामन्त्री हिक्मत कार्की तथा केन्द्रीय सदस्य मञ्जुकुमारी चौधरी आएका छन् । 


विभाजनपछि कुनै पक्षमा नखुली मजधारमा अधिकांश नेता कार्यकर्ताहरु कोको नेता कार्यकर्ता एसमा गए वा एमालेमै छन् भन्ने प्रष्ट हुन भेला आयोजना गरिएको हो । यसअघि जिल्लामा राम्रो प्रभाव रहेको एमालेबाट गत ०७४ को स्थानीयतह चुनावमा ८ पालिकामध्ये ६ वटामा मेयर, अध्यक्षसाहित ३ सय १८ जनप्रतिनिधि विजयी भएका छन् । जसमध्ये त्रियुगा नगरप्रमुख र उदयपुरगढी गाउँपालिका अध्यक्षसहित २८ जनाले एसमा सनाखत गरेका छन् । 


गएको स्थानीयतह निर्वाचनमा चौदण्डीगढी नगरपालिकाबाहेक त्रियुगा, कटारी र बेलका तथा गाउँपालिकामध्ये लिमचुङबुङबाहेक उदयपुरगढी, रौतामाई र ताप्लीमा अध्यक्ष, उपाध्यक्षसहित बहुमत एमालेको कब्जामा परेको थियो । चौदण्डीगढीमा नेपाली काँग्रेसले र लिमचुङबुङमा माओबादीले जितेको छ । लिमचुङबुङमा उपाध्यक्ष र त्रियुगामा उपमेयर भने काँग्रेसले जितेको छ ।