एमसीसी खारेज गर्न बिप्लब नेकपाको आव्हान

२0७८ भाद्र २९ मंगलवार
एमसीसी खारेज गर्न बिप्लब नेकपाको आव्हान

उदयपुर

नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अमेरिकन सहयोग मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेज गर्न माग गर्दै गाईघाटमा सोमबार बिरोध प्रदर्शन गरेको छ । युवा, विद्यार्थी, महिला र पार्टी नेता कार्यकर्तासहित निस्केको र्याली बजार परिक्रमापछि लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 


कोणसभामा पार्टी जिल्ला इन्चार्ज बिबेक कुमाल, जिल्ला सेक्रेटरी लक्ष्मण पौड्याल, कटारी नगर इन्चार्ज अमृत खत्रीलगायतले एमसीसी खारेज गर्न माग गर्दै अन्यथा सशक्त आन्दोलन गर्न पार्टी बाध्य हुने चेतावनी दिएका थिए । एमसीसी नेपाली जनता, देश र भविष्यका लागि अन्धकार युगको सुरुङ भएको भन्दै नेताहरुले कुनै पनि हालतमा लागू गर्न नहुने अडान वक्ताहरुल्े लिएका थिए । 


नेताहरुले संसदीय व्यवस्था नेपालमा असफल भईसकेकाले अव त्यसको बिकल्पमा वैज्ञानिक समाजबादी व्यवस्थाको स्थापना गर्नुपर्ने अडान पार्टीले लिएको भन्दै त्यसका लागि सम्पूर्ण जनता एकजुट भएर अघि बढ्नुपर्ने अवस्था आएको बताए । ००७ सालको क्रान्ति, ०४६ सालको पञ्चायनविरोधी आन्दोलन र १० वर्षे जनयुद्धपछिको ०६३ को राज्य व्यवस्था परिवर्तन भए पनि जनताको हैसियत परिवर्तन नभएको उनीहरुको ठहर थियो । 


३ वटा महमान् क्रान्तिले ल्याएको परिवर्तनबाट पनि संसदीय राजनीति नै अवलम्बन गरिएको भन्दै नेताहरुले तर, त्यसबाट जनताको स्तर यथावत रहेको बरु नेताहरु र निश्चित धनी बर्गको मात्र कायापलट भएको भन्दै त्यसले जनतामा तात्विक परिवर्तन नआउने हुनाले अव वैज्ञानिक समाजबादी व्यवस्था नै अन्तिम विकल्प रहेको उनीहरुको ठोकुवा थियो । 


बिप्ल नेतृत्वको नेकपाले उदयपुरसँगै देशव्यापी रुपमा एमसीसी विरुद्ध आन्दोलन सञ्चालन गरेको जनाएको छ । केहीदिनअघि मात्र नेकपाले एमसीसीको सम्झौतापत्र जलाएर सांकेतिक विरोध गरेको थियो ।